जल्पा ढालीमारामा होमस्टे व्यवस्थापन तालिम

पाल्पा । पूर्वखोला २ जल्पा ढोलीमारामा होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिक सकिएको छ । ढालीमार सामुदायिक होमस्टेको आयोजना र पूर्वखोला गाउँपालिका,पाल्पाको सहयोगमा तालिम सञ्चालन भएको हो ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाको शानको रुपमा रहेको ढोलीमारा सामुदायिक होमस्टेले छोटो समयमै ग्रामीण पर्यटन विकासको आधार तयार गर्न सफल भएको बताउनुभयो । ढोलीमारामा होमस्टे सञ्चालन हुन थालेपछि गाउँको पहिचान बढेको, स्थानीयवासीमा स्वरोजगार सिर्जना सम्भव रहेको र गाउँको उत्पादन गाउँमै खपत हुन थालेको बताउदै उहाँले खुसी व्यक्त गर्नुभयो । अध्यक्ष थापाले होमस्टेको दिगोपना र निरन्तरताका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका साथै अन्य सहयोगका लागि गाउँपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयषे ।

गाउँपालिकाकी उपाध्यक्ष भागिरथा भट्टराईले महिलाहरुको नेतृत्वमा सञ्चालित ढोलीमारा सामुदायिक होमस्टेले महिला जागरण, आर्थिक आर्यआर्जन र सांस्कृतिक गतिविधिहरु संरक्षणमा मद्दत गरेको बताउनुभयो । पूर्वखोला २, जल्पाका वडाध्यक्ष निरबहादुर सारुले आफूहरुको लामो प्रयास,स्थानीयको मेहनत र सक्रियतापछि ढोलीमारा गाउँमा होमस्टे सुरुगर्न सकिएको बताउनुभयो । उहाँले यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका निम्ति तालिम उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा होमस्टे सञ्चालन र व्यवस्थापनका आधारहरु, लुम्बिनी प्रदेश सरकारले तयार पारेको होमस्टे कार्यविधि–२०७६, होमस्टेले तयार पारेको मेनू, होमस्टे सञ्चालक र पाहुनाहरुका लागि तयार गरिएको आचारसंहिता, होमस्टे व्यवस्थापन समिति, उपसमितिहरु र तिनका काम, कर्तव्यहरुका विषयमा पर्यटनकर्मी दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो । तालिमकै क्रममा सहभागी होमस्टे सञ्चालकहरुले मगर संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रदर्शन समेत गरेका थिए । त्यसै गरी कलाकार बेनप्रसाद थापाले आफूले तयार पारेको ढोलीमारा गाउँको कलात्मक चित्र, उपहार स्वरुप होमस्टे समितिका अध्यक्षलाई प्रदान गर्नुभयो ।

ढोलीमारा सामुदायिक होमस्टको अध्यक्ष पहलसिंह घर्तीले तालिम फलदायी हुनुका साथै सहभागीहरुलाई उत्साह थपेको बताउनुभयो । उहाँले सामुदायिक होमस्टेलाई जिल्लाकै नमूना होमस्टे बनाउन आफूहरु क्रियाशील र गतिशील हुने बताउनुभयो ।

सम्बन्धित खवर