वडामा हल गोरु पाल्नेलाई भत्ता

पाल्पा। रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहा पाल्पाले वडामा हल गोरु पाल्ने नागरिकलाई भत्ता दिने जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा वडामा गोरु पाल्ने कृषकका लागि भत्ता दिने गरी कार्यक्रम राखिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिनुभयो । वडाध्यक्ष पोखरेलका अनुसार गोरु पाल्दै आएका किसानलाई वार्षिक २ हजार ५ सय र खेतबारी जोत्नका लागि आफैँले पाल्ने गरी हल गोरु किन्ने किसानलाई नगद ५ हजार भत्ता दिइने छ ।

वडामा कृषिकर्मलाई बढवा दिन यो नीति लिएको वडाध्यक्ष पोखरेलको भनाइ छ । पछिल्लो समयमा गाउँघरमा युवाहरु नहुँदा र कृषि खेतीप्रति चासो नहुँदा खनजोतमा समस्या छ । समय प्रविधीको भएपनि उपलब्ध नयाँ प्रविधीमा गाउँघरमा रहेका पुस्ताले प्रयोग गर्न नसक्ने भएकोले हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न कार्यक्रम सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

सामान्यतया हल गोरु पाल्दा परिवारलाई ठूलो आर्थिक राहत मिल्ने अवस्था भए पनि यस तर्फ ध्यान पुग्न नसक्दा कतिपय खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने बाध्यता वडाभित्र रहेको वडाध्यक्ष पोखरेलले बताउनुभयो । घरका गोरु, घरकै सदस्यले जोत्ने काम गर्दा खर्च बचत हुनुका साथै अन्यत्र जोत्ने काम गर्दा राम्रो आम्दानी लिन सक्ने अवस्था अहिले रहेको वडाध्यक्ष पोखरेलको भनाइ छ ।

गोरु पाल्दा आर्थिक लाभ हुनुका साथै रोजगारी र खेतबारीका लागि मलसमेत हुने भएकोले गोरु पाल्ने किसानलाई उत्साह थप्न प्राथमिकताका साथ भत्ताको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । वडामा कतिपय ठाँउमा हाते टेक्टर लैजाने अवस्था छैन । टेक्टर सबै ठाँउ पुग्दैन र सबै जनता आर्थिक हिसावले सवल नभएको अवस्थामा यो कार्यक्रमले वडाका नागरिकलाई राहत पुग्ने वडाध्यक्ष पोखरेलको विश्वास छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय