सवारीसाधन कारबाहीबाट एक करोड ३३ लाख बढी राजस्व

पाल्पा  । आर्थिक वर्ष २०७९/८० मा सवारी साधन कारबाहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले एक करोड ३३ लाख ७३ हजार राजस्व संकलन गरेको जनाएको छ । गएको एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १९ हजार ८५ सवारी साधनको कारबाही बाट उक्त राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले बताउनुभयो । उहाँका अनुसार कारवाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल रहेका छन् ।

कारबाहीमा परेका सवारी साधन मध्य ४ हजार ९ सय ७७ मोटरसाइकल छन् । जसबाट ३५ लाख ७३ हजार राजस्व संकलन भएको छ । यस्तै ४ हजार ९ सय २८ ट्रक र टिपरबाट ३३ लाख २३ हजार ५ सय, ५ हजार ४ सय ३४ जीप, कार, भ्यानबाट ३९ लाख ५४ हजार ५ सय, २ हजार ४ सय ६८ बसबाट, १८ लाख ६ हजार, १ हजार ९८ ट्याक्टर कारबाहीबाट ६ लाख ८९ हजार राजस्व संकलन भएको प्रमुख मल्लले जानकारी दिनुभयो । एक वर्षमा २ सय ४८ जना मादक पदार्थ सेवन गरी सवारी चलाएका चालकलाई समेत कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीको सक्रियता बढे संगै कारवाहीमा पर्ने सवारी साधनको संख्यामा वार्षिक रुपमा वृद्धि भएको छ । जसबाट राजस्व संकलनमा समेत वार्षिक रुपमा वृद्धि भएको प्रमुख मल्लको भनाइ छ । तीन वर्षको अवस्था हेर्दा गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ४ सय ६६ सवारी साधन कारबाहीबाट १ करोड १३ लाख ७१ हजार ५ सय राजस्व संकलन भएको थियो। यस्तै सो वर्ष कारावाहीमा पर्ने सवारी साधनहरुमा ट्रक ३ हजार ५ सय ८७ बाट २० लाख ५१ हजार, २ हजार ४ सय ६४ बसबाट १३ लाख ९३ हजार, ५ हजार ३ सय ७४ जीप कार, भ्यानबाट ३२ लाख ७४ हजार, १ हजार ४ सय ७१ टेक्टरबाट ८ लाख ७५ हजार र ५ हजार ५ सय ५० मोटरसाइकलबाट ३७ लाख ७८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस वाहेक एक सय जना मापसे कारबाहीवाट एक लाख राजस्व संकलन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा ८८ लाख ५९ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । कारबाहीमा पर्ने सवारी साधनहरुमा ट्रक, टिप्पर ३ हजार ९ सय ८४ बाट २२ लाख ४४ हजार, १ हजार ३ सय ५६ बसबाट ७५ लाख ५ हजार, ३ हजार ९ सय ५ जीप कार भ्यानबाट २२ लाख ७ हजार, ९ सय ५८ टेक्टरबाट ५ लाख ८३ हजार ५ सय र ४ हजार ८ सय १८ मोटरसाइकलबाट ३१ लाख १७ हजार संकलन भएको प्रमुख मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार १ सय १५ मापसे कारबाहीवाट १ लाख पन्ध्र हजार राजस्व संकलन भएको थियो ।

ट्राफिक प्रमुख मल्लका अनुसार राजस्व संकलनमा वृद्धि हुनु सकरात्मक कुरा नभएको बताउनुभयो । उहाँले जरिवाना संकलन हुनु भनेको जिल्लामा ट्राफिक नियम उल्लंघनका घटना धेरै भएको मानिने भएकोले यसप्रति गम्भीर हुनुपर्ने बताउनुभयो । जिल्लामा ट्राफिक नियमको पूर्ण पालना गराउने काममा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भएकोले सबैपक्षको सहयोग आवश्यक रहेको प्रमुख मल्लको भनाइ छ । उहाँले सवारी दुर्घटना न्यूनीकरण र नियमको पालना गराउनका लागि ट्राफिक चेकजाँचलाई कडाइका साथ अगाडि बढाएको जानकारी समेत गराउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय