
तानसेन । पाल्पाका दुई हजार पशुचौपायामा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन थालिएको छ । लम्पी स्किन रोगको नियन्त्रणका लागि पशुहरूमा खोप लगाउन सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । पाल्पाका लागि प्राप्त दुई हजार खोप जिल्लाका विभिन्न स्थानका पशु फर्ममा रहेका गाई,गोरु र भैसीहरुमा लगाउन थालिएको हो । अहिलेसम्म करिव पाँच सय बढी पशुचौपायामा खोप लगाइएको कार्यलय प्रमुख खनाललको भनाइ छ ।
पाल्पामा गत फागुन महिनादेखि लम्पी स्किन रोग फेला परेको हो । यसबाट पाल्पाका छ हजार ४ सय १ पशु संक्रमित भएका थिए । रोगबाट दुई सय ९७ वटा पशुहरू मरेका थिए । खोप प्राप्त भएपछि लम्पी स्किन रोगको संक्रमण नियन्त्रणमा सहज हुने विज्ञ केन्द्रले लिएको छ । पाल्पामा सबैभन्दा बढी घरमा पालेका पशु्हरूमा लम्पी स्किनको संक्रमण देखिएको पशु चिकित्सक नविन बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि छ सय बढी पशुहरू यस रोगबाट संक्रमित रहेका छन् । सं्क्रमित भएका पशुलाई बाहेक अन्य पशुलाई खोप लगाइने गरिएको छ । खोपको मात्रा दुई हजार प्राप्त भएपनि थप पशुचौपायाका लागि खोपको माग गरिएको पशु चिकित्सक बस्यालले जानकारी दिनुभयो ।
यो रोग पाल्पामा पहिलो पटक देखा परेको हो । नयाँ रोगका रुपमा फेला परेको रोग भाइरस मार्फत सर्छ । यसको औषधि र उपचार छैन् । संक्रमण फैलिएको क्षेत्रमा अन्य भाइरल रोगहरुमा जस्तै वैकल्पिक औषधि मार्फत उपचार गरिन्छ । यो रोगका लक्षणहरु साधारण र हल्का रुपदेखि निकै कडा खालको पनि देखिन सक्छ । साना पशुहरुमा यो रोग कडारुपमा लाग्दछ भने वयस्क पशुहरुमा साधारण लक्षणहरु देखिन्छ ।
रोगी पशुहरुमा ज्वरो ९१०४/१०५ डिग्री फरेनहाईटसम्म आउने, अरुचि हुने र झोक्राउने लक्षण देखिन्छ । त्यसको २–३ दिनमा पशुको शरीरभरि नै छालामा गिर्खा र गाँठाहरू देखिन सुरु गर्ने पशु चिकित्सक बस्यालले बताउनुभयो । यसका साथै गाईबस्तुमा गिर्खा र गाँठाहरूमा पिप जम्मा भएर घाउ बन्ने, उत्पादन घटने समस्या हुन्छ । यसमा जीवाणुजन्य संक्रमण भई समस्या झन् बढ्दै जान्ने, बिस्तारै शरीरका भित्री अङ्गहरु पेट, फोक्सो, श्वासनलीमा पनि यस्ता गिर्खा र गाँठाहरू बढ्न गई निमोनिया समेत हुने उहाँको भनाइ छ । यो रोग एक विषाणु भाइरस जन्य रोग हो । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरुले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् ।