
पाल्पा । तानसेनमा वैदेशिक रोजगारीको प्रक्रियामा नैतिक भर्ती अभ्यासहरुको सुनिश्चितता सम्बन्धी अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । सेन्टर फर मिग्रेशन एण्ड इन्टरनेसनल रिलेसन (सिएमआइआर)काठमाडौंको आयोजना तथा इसरा इन्स्टिच्युट को सहयोग र सहकार्यमा कार्यक्रम भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सिएमआइआर काठमाडौंका कार्यकारी निर्देशक युवराज नेपालले संस्थाले वैदेशिक रोजगारी सवालमा गर्दै आएको कामको विषयमा जानकारी गराउनुभयो । उहाँले यसका साथै संस्थाले विदेशमा गएर हराएका व्यक्तिको खोजिकार्य, मृत्यु भएका व्यक्तिहरुको सव नेपाल ल्याउने, अलपत्र र अवैधानिक रुपमा विदेशमा अलपत्र अवस्थामा रहेका व्यत्तिहरुको उद्धार र पैरवीका क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो । कार्यकारी निर्देशक नेपालले संस्थाले वैदेशिक रोजगारी सम्बन्धि अध्ययन अनुसन्धान गर्ने र आवश्यक परेको समयमा सरकारलाई सल्लाह सुझाव दिदै आएको बताउनुभयो । यसका साथै नेपालको वैदेशिक रोजगारीको अवस्था, समस्या, चुनौती र अवसरका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभयो । वैदेशिक रोजगारमा जानु पूर्व आवश्यक जानकारी उपलब्ध गराउन सके सम्भावित जोखिम न्यूनीकरण हुने भएकाले समयमा सहि सूचना प्राप्त गर्ने सुनिश्चितताको लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा कार्यकारी निर्देशक नेपालले जोड दिनुभयो ।
सेन्टर फर मिग्रेशन एण्ड इन्टरनेसनल रिलेसन काठमाडौंकी कार्यक्रम संयोजक विभूती किरण घिमिरेले प्रवासी नेपाली कामदारहरुको लागि लक्षित गरेर तयार गरिएको सूचनामूलक मोबाइल एप्स उज्ज्वल सपना को बारेमा जानकारी गराउनुभयो । उहाँले समय अनुसार प्रविधिमैत्री रुपमा वैदेशिक रोजगारी सम्बन्धि आवश्यक जानकारी समेटेर तयार गरिएको मोवाइल एप्सको प्रयोग गर्दा वैदेशिक रोजगारमा सहभागी हुन इच्छुक सबैका लागि सूचना प्राप्त गर्न सहज हुने बताउनुभयो । आवश्यक सूचना, जानकारी र उजुरी समेत गर्न मिल्ने एप्स भएकोले यसको प्रयोग बारे सरोकारवाला निकायले सहजीकरण गर्दा वैदेशिक रोजगारी सुरक्षित,मर्यादित र व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरु सीप र श्रमस्वीकृत गरेरमात्र वैदेशिक रोजगारी जानुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाको वैदेशिक रोजगारीलाई सुरक्षित, मार्यदीत र व्यवस्थित बनाउन स्थानीयस्तरमा नै आप्रवासन सूचना केन्द्रको स्थापना गरी सेवा दिनुपर्ने बताउनुभयो । यस विषयमा जिल्लाका स्थानिय सरकार जिम्मेवार भएर सम्भावित व्यक्तिले सहि समयमा सहि सूचना प्राप्त गर्ने वातावरण निर्माणका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता भएको बताउदै यसलाई सुरक्षित बनाउन स्थानीय सरकार कटिबद्ध रहेको बताउनुभयो । उहाँले गन्तव्य मुलुकको भाषा, संस्कृति, कानुनका साथै सीप सिकेर वैधानिकबाटोबाट मात्र जवैदेशिक रोजगारीमा जानुपर्ने बारेको ज्ञान दिनुपर्ने बताउनुभयो । उहाँले विदेश जाने सोच भएका युवालाई पूर्व तयारी,विदेशमा रहँदाको अवस्था र फर्किदाँ सम्म आवश्यक सूचनाको बारेमा स्पष्ट भएर वैदेशिक रोजगारीमा जान आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक सोवाकान्त न्यौपाने, गाउँले देउराली साप्ताहिका सहसम्पादक रामचन्द्र नेपाल, अधिबक्ता मिना जिसीलगायतले प्राप्त जानकारी र सीप विदा विदेश जाँदा विभिन्न् खाले समस्या आइपर्ने गरेको बताउनुभयो । उहाँहरुले सरकारले व्यवस्था गरेको नीति र कानुन पनि पूर्णरुपमा कार्यान्वयन नभएकोले पनि बिचौलियाको चलखेलमा जनता ठगिने अवस्था रहेको बताउनुभयो । यसका साथै कार्यक्रममा सहभागीहरुले नीतिगत व्यवस्था बारे जानकारी नहुँदा पनि ढाटिने र ठगिने भएकोले अनिवार्य रुपमा सहि सूचना लिएरे वैधानिक प्रकृयाबाट वैदेशिक रोजगारीमा सहभागी हुने सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले यसका लागि सुरक्षित वैदेशिक रोजगारका विषयमा ग्रामीणतह सम्म जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।









