नयाँ पर्यटकीय गन्तव्यको खोजीका लागि पदयात्र

पाल्पा । नेपाल एशाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पाल्पा च्याप्टरले नयाँ पर्यटकीय गन्तव्यको खोजीका लागि पदयात्रा अभियान सुरु गरेको छ । अभियान अन्तरगत साउन महिनाको प्रत्येक शनिबार पर्यटकीय गन्तव्यको पहिचान गर्न पदयात्रा गरिने भएको छ । जसअनुसार साउनको पहिलो शनिबार तानसेनबाट चण्डीभञ्ज्याङ्गं हुँदै बौघापोखराथोकसम्म पदयात्रा गरिएको थियो ।

तानसेनको भगवती मन्दिरबाट पदयात्राको शुभारम्भ भएको हो । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पाको पर्यटन विकास र विस्तारमा अभियानले सहयोग गर्ने बताउनुभयो । उहाँले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । गेटअप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले पदयात्रा पाल्पाको पर्यटकीय गन्तव्यको लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

नाट्टा च्याप्टर पाल्पाका अध्यक्ष राजीवकुमार शाहले साउन महिनाको पाँचवटै शनिबार विभिन्न गन्तव्यमा पदयात्रा कार्यक्रम गरी नयाँ पर्यटकीय गन्तव्य बारे जानकारी गराउने बताउनुभयो । पदयात्रामा सहभागीहरुले चण्डीभञ्ज्याङ्ग क्षेत्रमा रहेको करिब सय वर्ष अघि बनेको सुरुङ, चेचिकोटमा रहेको रतन पाँडेको मन्दिरको अवलोकन गरेका थिए । यस्तै तानसेन १२ मा रहेको थाम्केडाँडाबाट देखिने मनोरम दृष्यको समेत अवलोकन गरे । यस स्थानबाट देखिने हिमदृश्य हेर्नका लागि ट्रि हाउसको निर्माण गरिएको छ । थाम्केडाँडामा आयोजित कार्यक्रममा आफनो भनाइ राख्दै तानसेन नगरपालिका वडा नं १२ का वडाध्यक्ष मेजर सिह केसीले थाम्केडाँडा प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक महत्व रहेको डाँडा भएको बताउनुभयो । उहाँले यसको थप विकास गर्नको लागि विभिन्न निकायहरु संग समन्वय र सहकार्य भैरहेको जानकारी गराउनुभयो ।

पदयात्रापछि नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले पाल्पा आउने पर्यटकको बसाइँ बढाउन यो बौघापोखराथोक महत्वपूर्ण गन्तव्य हुने बताउनुभयो । उहाँले पाल्पामा आउने पर्यटकको लागि तानसेन, श्रीनगर, भैरबस्थान, रानीमहल मात्र नभएर अरु थुपै गन्तव्य रहेको र त्यसको खोजी गरी संरक्षण विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर