पाल्पा प्रहरीको सक्रियता

पछिल्ला आर्थिक वर्षमा जिल्लामा अपराधिक घटनामा वृद्धी भएको प्रहरीको तथ्यांकमा देखिन्छ । विगत तीन वर्ष घटनालाई हेर्दा संख्यातमक रुपमा भर्खरै सकिएको आर्थिक वर्षमा वृद्धि भएको छ । यो विवरण घटना बढी घटेको भन्दा पनि प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ परेको दावी प्रहरीको छ । प्रहरीले आफ्नो सक्रियताका कारण शान्ति सुरक्षाको विषयमा प्रगति देखिदाँ घटना बढी देखिनु स्वभाबिक भएको मानेको छ । यसका साथै प्रहरीले जिल्लामा विगतको तुलनामा अपराध तथा अभियुक्त पक्राउको संख्या बढेको भएपनि सुरक्षा चुनौती नभएको जनाएको छ । हुनत् जिल्लाको शान्ति सुरक्षाका लागि प्रहरीको सक्रिय मात्र प्राप्त हुँदैन् । आम नागरिक, स्थानीय सरकार र अन्य सरोकारवालाहरुको सहयोग आवश्यक रहन्छ । तर,पाल्पामा अपराधिक क्रियाकलाप न्यूनीकरणका लागि अन्य सरोकारवालाहरुको सहकार्यको अवस्था कमजोर पाइन्छ । समाजमा अमनचयनको वातावरण बनाउन प्रहरीलाई सबैपक्षको सहयोग, समन्वय र सहकार्यको ग्यारेण्टी हुुनुपर्छ ।

पछिल्ला वर्षमा आत्महत्याका घटनामा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै ८६ जनाको आत्महत्याबाट मृत्यु भएको छ । घटना बढ्नुमा मानसिक रोग, अपमान बोध, लागुऔषध सेवन, मादक पदार्थ सेवनका साथै निराशावादी भावना, गम्भीर प्रकृतीका रोग, पारिवारीक कलहलगायतका कारण रहेका देखिन्छ । यस्तै नदिजन्य उत्खनन् र कारवाहीका घटना पनि बढेका छन् । गत आर्थिक वर्ष २०७९/८० मा नदिजन्य पर्दाथ चोरीका घटनाबाट एक सय १६ सवारी साधन पक्राउ परेका छन् । यस्तै लागुऔषध अपराधका घटना संलग्न ११ जना पक्राउ भएका छन् । गएको आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेर ४० जना पुगेको छ । अधिकांश घटनाहरुमा वृद्धि भएको तथ्यांकमा देखिएको छ । घटनाको ग्राफ वृद्धि हुनुमा प्रहरीको सक्रियता प्रमुख कारण रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा केही पुराना घटनाहरु अनुसन्धानकै क्रममा रहेका छन् । जसको लामो समय हुँदा सम्म कुनै टुंगो लाग्न सकेको छैन् । यसका साथै गत आर्थिक वर्षमा रिब्दीकोट ५ कुसुमखोला माराबासको वृद्ध महिला हत्याको घटनाको दोषि हालसम्म पनि पत्ता लाग्न नसकेको अवस्था छ । यो घटना अझै पनि अनुसन्धानकै क्रममा रहेको छ । यसका साथै अझैपनि विभिन्न अपराधमा संलग्न केही अभियुक्त पक्राउ गर्नुपर्ने काम बाँकी नै रहेको छ । जसका लागि पाल्पा प्रहरी सक्रियताका साथ समन्वयकारी रुपमा अगाडि बढेको पाइन्छ । यसो गर्दागदैँ पनि जिल्लामा आत्महत्याका घटना, नदीजन्य प्रदार्थको उत्खनन् र सवारी दुर्घटना जस्ता घटनाको न्यूनीकरणमा गरिएका कार्यक्रम प्रयाप्त र प्रभावकारी बन्न नसकेको अवस्था छ । जिल्लामा शान्ति सुरक्षा सहज व्यवस्थापनका लागि जनचेतनाका कार्यक्रम प्रभावकारी बनाउनु पर्दछ । जसका लागि प्रहरी नागरिक र मिडियामैत्री भएर काम गर्नुपर्दछ ।

सम्बन्धित खवर