पाल्पा । अहिले सम्म पाल्पामा ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । यो वर्ष आवश्यक मात्रामा समयमा पानी नआएका कारण रोपाइँ हुने क्षेत्रफल तुलनात्मक रुपमा कम भएको हो । असारको दोस्रो साता आएको पानीले धान रोप्ने कृषकलाई केही राहत भएको थियो । जसले गर्दा पाल्पाको अधिकांश भू–भागमा रोपाइँ सकिएको छ । पाल्पाको माडी, कचल अर्गली, पीपलडाँडा, दोभान, झडेवा फाँटहरूमा रोपाइँ सकिएको र रामपुर, गेझा, निस्दी, हुँगीका फाँटहरूमा भने अहिले पनि कतै रोपाइँ चलिरहेको र कतै मकै फडानी नभएको र बीउ समेत सानै रहेको ज्ञान केन्द्रकी कार्यालय प्रमुख कामना अधिकारीले जानकारी दिनुभयो ।
पाल्पाको पश्चिम भेगका अधिकांश स्थानमा धान रोपाइँ सकिएको छ । पूर्वी भेगका केही फाँटहरूमा साउनको पहिलो हप्तासम्म धान रोपाइँ गर्ने प्रचलन रहेपनि पानी खेतमा भएको मकै र रोप्ने धानको बीउ सानै हुँदा रोपाइँ हुन सकेको छैन । आगामी हप्ता रोपाईको क्षेत्रफलमा वृद्धि हुने केन्द्रकी प्रमुख अधिकारीको भनाइ रहेको छ । गत वर्ष यो समयमा ९० प्रतिशत भन्दा बढी क्षेत्रफलमा रोपाई भैसकेको बताउँदै प्रमुख अधिकारीले यो वर्ष ढिला गरी रोपाइँ भए पनि धान खेतीका लागि पर्याप्त पानी भएपछि रोपाइँको काम तीव्र रुपमा कृषकले अघि बढाएको अधिकारीले बताउनुभयो । पूर्वी भेग रामपुर, निस्दी, गेझालगायतका फाँटहरूमा हिउँदे धान र मकै खेती स्याहार्न बाँकी रहेकाले रोपाइँ साउनको दोस्रो सातासम्म हुने ज्ञान केन्द्रले जनाएको छ । पाल्पामा आठ हजार २ सय १० हेक्टर भूभागमा वर्षे धान खेती हुँदै आएको छ । हिउँदे धानको खेती भने ७ सय २० हेक्टरमा मात्र हुने गरेको छ । यो वर्ष हिउँदे धान खेती २० प्रतिशतले घटेको छ । पछिल्लो समय कृषि प्रविधिको प्रयोग बढेका कारण धान खेती छोटो समयमै सम्पन्न गर्न सहज बनेको कृषकहरुको भनाइ छ ।
धान रोपाइँमा ट्याक्टर, रोलाभेटर, हाते ट्याक्टर जस्ता मेसिनको प्रयोग बढेपछि १५ दिनभित्रै अधिकांश भूभागमा धान खेती सकिएको ज्ञान केन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिनुभयो । उहाँले पहिले–पहिले हल गोरु र मानिसको सहायताले मात्र रोपाइँ हुन्थ्यो अहिले कृषि प्रविधिको प्रयोगले रोपाइँमा समय र खर्चमा कटौती आएको बताउनुभयो । पाल्पाका किसानले उन्नत जातका र हाइब्रिड जातको धान खेती गर्दै आएका छन् । केन्द्रका अनुसार पाल्पामा मनसुली, राधा, मलेसिया, खुमल, बास्मती, झिनुवा, सावित्री लगायतका जातको धान खेती हुँदै आएको छ । यो वर्ष धान खेतीका लागि कृषकलाई आवश्यक पर्ने मलको समेत अभाव नरहेको ज्ञान केन्द्रले जनाएको छ ।