कवुलियती वनमा रमाएका ढोलीमाराका कृषक

पाल्पा  । पूर्वखोला २ जल्पा ढोलिमाराका किसान कवुलियती वन समूहमा आवद्ध भएर व्यवस्थित रुपमा कृषि कर्ममा रमाएका छन् । उनीहरुले गाउँलाई नै नमुना उद्यमशील गाउँका रुपमा विकास गरेर अगाडि बढेको बताएका छन् ।

डिभिजन वन कार्यालय पाल्पाले आयोजना गरेको समन्वय बैठकमा समूहमा आवद्ध कृषकहरुले यस्तो बताएका हुन् । यहाँ दुई वटा वन समूहका ६२ घरपरिवार कवुलियती वन समूहमा आवद्ध रहेका छन् । ढोलीमारा कवुलियति वन समूहमा ३३ जना र वेनडाँडा कवुलियती वन समूहमा २९ घरपरिवार रहेका छन् ।

वन समूहले २५ रोपनी जग्गा भाडामा लिएर किवी खेती गरेको छ । यहाँ कृषि अभियानलाई सफल बनाउन सुरुका दिनमा एक घर एक टनेलको अवधारणा भएपनि अहिले एक घर बहुटनेलका रुपमा काम भएको ढोलीमारा कवुलियती वन समूहका अध्यक्ष पहलसिंह घर्तीले बताउनुभयो । उहाँका अनुसार यहाँका कृषकले सबैखाले तरकारी खेती गर्ने गरेपनि विशेषगरी गोलभेडाँ उत्पादन गर्ने गरेका छन् । राष्ट्रिय स्तरको पहिलो पुरस्कार प्राप्त समूहले विशेष गरी पर्यापर्यटन अन्तरगत चुलिडाँडामा पर्यटन पूर्वाधार निर्माणको काम गरिएको छ । आर्थिक आर्यआर्जनका लागि व्यवसायिक रुपमा किवी खेती, बसाइँसराई रोक्न बाँझोे जग्गा भाडामा लिएर खुर्सानी, तरकारी खेती गरिएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । यसका साथै समूहबाट ग्रामीण सामुदायिक होमस्टे समेत सञ्चालन गरिएको छ ।

बैठकमा डिभिजन वन कार्यालय पाल्पाका कार्यालय प्रमुख नारायणदेव भट्टराईले हैसियत विग्रीएको जमिनको प्रयोगबाट समूहले आम्दानीको स्रोत तयार गरेको बताउनुभयो । उहाँले स्थानीय जनताको आर्थिक सवलिकरण गर्न र बसाइँसराई रोक्नका लागि समूहका गतिविधि क्रियाशील रहेको समेत बताउनुभयो । खेतीदेखि होमस्टे सम्मको काम अधिकांश महिलाहरुको सहभागितामा हुने गरेको वन समूहका सचिव चित्र कुँवरले बताउनुभयो । उहाँले समूहमार्फत काम गर्न थालेपछि गाउँमा बसाइँसराईको अन्त्य भएको बताउनुभयो ।

पछिल्लो समयमा ढोलिमारा गाउँमा तीन घर परिवार गाउँ बाहिर गएको र ६ घर परिवार गाउँमा बसाइँसराई गरी आएको समेत जानकारी गराउनुभयो । डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले मिलेर काम गर्दा आम्दानी लिन सकिने उदाहरण ढोलिमारा कवुलियती वन समूह बनेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा प्राप्त सम्भावनाको खोजी गरेर समूहमा मिलेर काम गर्दा फाईदा हुन्छ भन्ने समेत सिकाएको बताउनुभयो । इच्छा र रुचि अनुसार खेती, पर्यटन क्षेत्रको विकास र घरबाँस कार्यक्रमले समूहमा रहेका सबै सदस्यको हित र गाउँको विकासमा टेवा पुग्ने रेञ्जर पोखरेलको विश्वास छ ।

सम्बन्धित खवर