पाल्पा । आर्थिक वर्ष २०८०/८१ मा रिब्दीकोट गाउँपालिका वडा नं. १ को कार्यालयले वडाका नागरिकले खुटेका सालको पातका दुना टपरी खरिद गर्ने भएको छ ।
वडा भित्र प्लाष्टिका पिलेट,थालहरु प्रतिस्थापन गर्नका लागि वडा कार्यालयले यस्तो योजना ल्याएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडाका नागरिकले तयार गरेका दुना टपरी खरिद गरिने छ । जंगलमा सालका पात सुकेर भुइँमा खेर गएका छन् । घाँस काट्न जाँदा वा फुर्सदको समयमा उपलब्ध सालका पात टिपेर आफूसंग भएको सीपको प्रयोग गरी दुना टपरी खुट्ने बानीको विकास गराउनुका साथै विस्तारै नागरिकलाई आम्दानीसंग जोड्ने कार्यक्रम गर्न लागिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो ।
वडाका नागरिकले घरमा फुर्सदको समयमा दुना टपरी बुन्नेछन् । थोरै धेरै जति भए पनि वडाले निश्चित मूल्य निर्धारण गरी खरिद गर्नेछ । जसले गर्दा उनीहरूलाई सामान्य घरखर्चमा राहत मिल्ने अध्यक्ष पोखरेलको विश्वास छ । वडाले खरिद गरेर राखेका दुना टपरी उचित मूल्यमा वडा भित्र हुने कार्यक्रममा उपलब्ध गराउने योजना वडा कार्यालयको छ ।
बजारमा आएका प्लाष्टिकका प्लेट, कचौराको प्रयोगले वातावरणमा पारेको असर न्यूनीकरण र आर्थिक बचतका लागि प्लाष्टिकका सामग्र्री विस्थापित गर्ने कार्यक्रम सफल हुने वडाध्यक्ष पोखरेलको भनाइ छ । यहाँका नागरिकलाई स्वरोजगार बनाउने गरी दुना टपरी खरिदको नीति लिइएको छ । घरमा भएको ज्येष्ठ नागरिकले पनि दुना टपरी बुन्न सक्छन् । जाँगर र क्षमता अनुसार काम गर्दा सामान्य परिवारको आर्थिकोपार्जनमा समेत टेवा पुग्ने वडाध्यक्ष
पोखरेलको दावी छ ।