जिससको बगनासकालीका योजना अनुगमन

तानसेन । जिल्ला समन्वय समिति पाल्पाले बगनासकाली गाउँपालिकामा संचालित क्रमागत योजना र बहुवर्षीय योजनाको अनुगमन गरेको छ । समन्वय समितिका प्रमुखका टंकनाथ खनालको नेतृत्वमा उपप्रमुख काशिका गैरे सहित समन्वय समिति सदस्यहरु र बगनासकाली गाउँपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधि कर्मचारीहरुको सहभागितामा अनुगमन भएको हो ।

विशेष गरी संघ, प्रदेश र गाउँपालिकाले लगानी गरेका योजनामा आफूहरूले निगरानी बढाएको जिल्ला समन्वय समितिका प्रमुख खनालले जानकारी दिनुभयो । अनुगमन गरिएको १० वटा योजनामा राम्रो काम र गुणस्तरीय भेटिएको उहाँको भनाइ छ । योजना बारे राख्नुपर्ने सूचना बोर्ड भने धेरै ठाउँमा राखेको नपाइएकोले राख्न लगाइएको प्रमुख खनालले बताउनुभयो । मोटरबाटो पिच र ढलानको काम उदारणिय देखिएको छ । सबै स्थानमा एकै किसिमका छैनन्, तर विशेष गरी प्रदेश सरकारको लगानीका योजनामा निगरानी कम भएको देखिन्छ, उहाँले भन्नुभयो हामी जिल्ला भरका योजना अनुगमन गरी कमजोर काम गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने गरेका प्रमुख खनालले बताउनुभयो ।

समितिले बगनासकाली १ को घोरबन्दा ठुलाचौर पिप्ले मोटरबाटो, वडा नं. २ र ३ को आर्यभञ्ज्याङ् सिन्चास पोखराथोक मोटरबाटो ढलान,बगनासकाली ६ यम्घाको सिता माध्यमिक विद्यालयमा रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत बनेको २ कोठे भवन, स्वास्थ्य एकाई भवन निर्माण वडा नं. ७ र ८ को मोटरबाटो कालोपत्र लगायतका योजना अनुगमन गरिएको हो । जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले गाउँपालिकामा संचालन भएका योजनाहरु गुणस्तर बनेको बताउनु भएको छ । स्थानीय तहको विभिन्न विकास निर्माणका कामका लागि विनियोजन गरिएको रकम सहि तरिकाले सदुपयोग होस्, गुणस्तरीय काम होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको उहाँको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले आर्थिक बर्ष २०७९÷८० मा ९० प्रतिशत भौतिक प्रगति गरेको र समपुरक बजेट बाट संघ र प्रदेशको योजना म्याचिङमा काम चलिरहेको जानकारी दिनुभयो । उहाँले समन्वय समितिको सक्रियताले गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन लगायत योजना समयमै गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । समितिले अनुगमनमा सक्रियता देखाएसँगै निर्माण व्यवसायी तथा उपभोक्ता समिति सचेत भएर काम छिटो र गुणस्तरीय हुने गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले बताउनुभयो ।

सम्बन्धित खवर