तानसेन । पाल्पामा समाजवादी मोर्चा गठन भएको छ । केन्द्रमा समाजवादी मोर्चा गठन भएसंगै पाल्पामा पनि चार दलको संयुक्त बैठकले पूर्व सासंद तथा नेकपा (एकीकृत समाजवादीका) जिल्ला इन्चार्ज यादब बहादुर रायमाझीको संयोजकत्वमा समाजवादी मोर्चा नेपालको गठन गरेको हो ।
मोर्चामा पाल्पामा क्रियाशील नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी सहभागी छन् । मोर्चा गठनसंगै चार दलको संयुक्त बैठकले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलालाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।
मोर्चाले सरकारका कामको सही प्रचार गर्न, जिल्लामा शुसासन कायमका लागि पहल गर्न, विद्युत, खानेपानी तथा सार्वजनिक यातायातको भाडा समायोजनजस्ता विषयमा ध्यानाकर्षण गराएको मोर्चाका संयोजक यादवबहादुर रायमाझीले जानकारी दिनुभयो । उहाँले टिपरका कारण सडक बिग्रीएको अवस्थाबारे चासोदिन, स्थानीय तहमा देखिएको बेथिती तथा चुनढुंगा खानीमा देखिएका समस्या समाधानका लागि पहल गर्न माग गरेको बताउनुभयो ।
ध्यानाकर्षष पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्थानीय प्रशासनको तर्फबाट हुने नियमनका विषयमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बास्तोलाले खानीका विषयमा उठेका कुराका लागि माथिल्लो निकायबाटै पहल गर्नुपर्ने बताउदै मोर्चाले उठाएका विषयमा र जिल्लाको समसामहिक विषयमा समन्वयात्मक रुपमा छलफल गरेर काम हुने बताउनुभयो । मोर्चाले समितिलाई पूर्णता दिने तथा जनपक्षिय कामका लागि प्राथमिकता दिएर पहल गर्ने जनाएको छ ।