रैनादेवीको तिलकथान पार्कमा पर्यटक आकर्षित

पाल्पा। रैनादेवी छहरा गाउँपालिका वडा नंं. ४, तिलकथान पार्क पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा पूर्वाधारका संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटकहरु आकर्षित हुन थालेका हुन् ।

गाउँपालिकाले पोखरी, प्रतिक्षालय र बालबालिकालाई खेल्न पिङ, पैदलमार्ग, रेलिङ, तिलकथान मन्दिर, भवन लगायतका संरचनाले आन्तरिक पर्यटकलाई लोभ्याएको हो । अग्लो डाँडाबाट आसपासका मनोरम दृष्य अवलोकन गर्न पाइनुका साथै घुमफिर गर्न रुचाउनेहरुका लागि अहिले यो स्थान सबैको रोजाईमा पर्न थालेको स्थानीय टिकाराम पोखरेलले बताउनुभयो । जसले गर्दा यस क्षेत्रको चहलपहल बढेको छ । गाउँपालिकाले धार्मिक तथा पर्यटकीय महत्व बोकेका क्षेत्रको विकास गर्न अध्ययन थालेको छ । नेपाली सेनाद्वारा निमार्ण गरिएको हेलिप्याडले पनि पर्यटकलाई तानेको छ । पाल्पाको पश्चिम क्षेत्रमा मुख्य धार्मिक पर्यटकीय गन्तव्यका रूपमा तिलकथान पार्कलाई विकास गरिएको छहरा–४ वडाध्यक्ष गोविन्द रायमाझीले जानकारी दिनुभयो ।

यस क्षेत्रमा गर्मीमा शीतल, जाडोमा घमाइलो तथा वनभोजका निम्ती उपयुक्त रहेको हँुदा पनि पिकनिक स्थलको रुपमा विकास गर्ने र आन्तरिक पर्यटकको चहलपहल ल्याउन प्रचारमुखी कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । गाउँपालिकालाई धार्मिक तथा कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजना अनुसार गाउँपालिका भित्र तरकारी, सुन्तला, कफी उत्पादनका कार्यक्रम भैरहेको र तरकारी तथा सुन्तला संगै तिलकथान पार्क सम्म पर्यटन लान पनि यो क्षेत्रको विकास जरुरी रहेको गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईको भनाइ छ । हिमाल तथा तराईका सुन्दर फाँटको दृश्यावलोकन गर्न सकिने तिलकथानमा शनिबार र विदाको दिनमा बढी चहलपहल हुने गरेको छ । धार्मिक, सामाजिक, सांस्कृतिक रुपमा महत्व बोकेका स्थानहरुमा स्थानीय सरकारलाई लगानी गरेर पर्यटक आकर्षित गर्न भौतिक पूर्वाधारको निमार्णसंगै संरक्षणमा चासो दिन स्थानीयहरुले सुझाव दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय