मदनपोखरा आधारभूत स्वास्थ्य केन्द्र

पाल्पा । लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुले योजनाको बजेट फ्रिज नहुने गरी काम गर्न जनतालाई आग्रह गर्नुभएको छ । तानसेन नगरपालिका वडा नं ८ मा रहेको मदनपोखरा आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मीत भवनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सारुले यस्तो बताउनुभएको हो । यस वर्ष तानसेन वडा नं ८ मदनपोखराका लागि प्रदेश तर्फको सडक र खानेपानीका लागि करिब ४ करोड बजेट विनियोजन गरिएको बताउँदै सारुले समयमै योजना सम्झौता गरी सम्पन्न गर्न आग्रह समेत गर्नुभयो ।

एक पटक बजेट फ्रिज भयो भने अर्को पटक पुनः त्यस ठाँउमा बजेट पार्न समस्या हुने बताउँदै स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भित्र पर्ने बताउनुभयो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले यस स्वास्थ्य केन्द्रको स्थापनाले यस भेगका जनता आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुनु नपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य केन्द्र स्थापनाका लागि निशुल्क जग्गादान गर्ने जग्गादाता गणेश भट्टराई र रोमकान्त पाण्डे तथा उहाँका परिवारहरुलाइ धन्यवाद समेत व्यक्त गर्नुभयो । यसै गरी नगर उपप्रमुख प्रतिक्षा सिंजालीले पहुँचको भरमा भन्दा पनि आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने गरेको बताउँदै यस स्वास्थ्य केन्द्रको स्थापनाले सुरक्षित मातृत्वको लागि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले यस स्वास्थ्य केन्द्रले दिने स्वास्थ्य सेवाको बारेमा जानकारी दिर्दँै पछिल्लो समय नसर्ने रोगले निम्ताउने चुनौती बढ्दै गएको बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष दामोदर घिमिरेले २ पटक गरेर संघीय बजेट करिब ३६ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको जानकारी गराउदै भवन निर्माणमा सहयोग पु¥याउने सम्पूर्णमा धन्यवाद दिनुभयो । कार्यक्रमका अवसरमा तानसेन वडा नं ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, सामुदायिक रेडियो मदनपोखराका कार्यकारी निर्देशक गुणाकर अर्याल, समाजसेवी एकप्रसाद भण्डारी, जग्गादाता गणेश भट्टराई लगायतले नजिक स्वास्थ्य संस्था हुँदा नागरिकलाई सहज हुने बताउनुभयो ।

सम्बन्धित खवर