
पाल्पा । सुन्तलाजात फलफूल विकास केन्द्र पाल्पाले वार्षिक प्रगति सार्वजनिक गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७९/८० को बजेटबाट कार्यसम्पादन गरेको कार्यक्रमको प्रगति सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षमा केन्द्रले पूँजीगत तर्फ ५६ दशमलब ९१ र चालुखर्च तर्फ ८३ दशमलब ३१ प्रतिशत प्रगति भएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दीपक भटराईले जानकारी दिनुभयो । उहाँका अनुसार गएको आर्थिक वर्षमा केन्द्रबाट ४१ हजार ३ सय ७९ वटा विरुवा विक्री गरिएको बताउनुभयो । जसमा सुन्तला ३४ हजार ८ सय ७८, कागती ६ हजार १५, जुनार २ सय ८९ र अन्य एक सय ९७ रहेको कार्यलय प्रमुख भटराईले बताउनुभयो । केन्द्रले विगत दश वर्षको तुलनामा यो वर्ष सबैभन्दा धेरै विरुवा विक्री गरेको छ । जसबाट २० लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको केन्द्रका प्रमुख भटराईको भनाइ छ ।
२०२५ सालमा कृषि फर्म प्रयोगशालाका रुपमा स्थापना भएको यो केन्द्र वागवानी फार्म हुँदै सुन्तलाजात फलफुल विकास केन्द्रका रुपमा विकास गरिरहेको छ । अहिले यसले नमुना सिकाई तथा प्राविधिक केन्द्रका रुपमा काम गरिरहेको केन्द्र प्रमुख भटराईको भनाइ छ । तानसेन ४ होलाङदीमा रहेको केन्द्र एक सय ८४ रोपनी अर्थात ९ दशमलब २ हेक्टरमा फैलिएको छ । जसमा एक सय १५ रोपनी अर्थात ५ दशमलब ७५ हेक्टर खेतीयोग्य जमिन छ भने खेती अयोग्य जमिन ६९ रोपनी अर्थात ३ दशमलब ४५ हेक्टर जग्गा भीर, पाखो, बाटो, भवन आदि रहेको केन्द्रले जनाएको छ । केन्द्रमा रहेको खेतीयोग्य जग्गा मध्ये फलफूल माउबोट बगैंचा ९६ रोपनी अर्थात ४ दशमलब ८ हेक्टरमा रहेको छ । यस्तै नर्सरी तथा रुट स्टक ७ रोपनी अर्थात शून्य दशमलब ३५ हेक्टर, तरकारी तथा बीउ उत्पादन १२ रोपनी अर्थात शून्य दशमलब ६ हेक्टरमा हुँदै आएको केन्द्र प्रमुख भट्राईले जानकारी दिनुभयो ।
प्रगति सार्वजनिक कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले कृषि क्षेत्रको विकास र विस्तारका लागि सबै कार्यालयहरु बीच समन्वय र सहकार्य हनुपर्नेमा जोड दिनुभयो । यस्तै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले विरुवा उत्पादनमा र खेतीमा परम्परागत रुपमा प्रयोग गरिने खोसमेराको मल प्रयोगमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । यसका साथै उहाँले कृषि क्षेत्रको विकासका लागि तालिम दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले केन्द्रले उपलब्ध गराउने सेवा बारे अझैपनि सर्वसाधारण जनता जानकार हुँन नसकेको बताउनुभयो । उहाँले गुणस्तरीय फलफूलका विरुवा उत्पादन र सस्तो मूल्या विक्री वितरण, नमुना सिकार्य केन्द्र, अन्य नर्सरी अनुगमन र आवश्यकता अनुसार पविधिक सहयोग उपलब्ध हुने विषयमा जानकारी प्राप्त गरेर सेवा लिने वातावरण निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।