
पाल्पा । साउन महिनाको पहिलो सोमबार शिवको ब्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले देशभरिका शिव मन्दिरहरुमा हिन्दु धर्मावलम्वीको भीड लागेको थियो । पाल्पाको बगनासकाली ८ बराङ्दीमा रहेको सिवासन धाम र सिद्धबाबा मन्दिरमा पनि बिहानैदेखि निकै दर्शनार्थीहरुको घुइँचो लागेको थियो । यहाँ बोलबम मेला भर्न नेपालका विभिन्न जिल्लाका समेत भक्तजनहरु आएका थिए । विशेषगरी महिलाहरु हरियो रंगका चुरा, मेहंदी र गेरु बस्त्र लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् ।
सूर्य दक्षिणायन पछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना भएको ज्योतिष पण्डित विष्णु प्रसाद बस्यालले जानकारी दिनुभयो । साउनको महिना भित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानै देखि महिलाहरु शिव मन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् । शिव भगवानलाई देवहरुको देव मानिने र शिवका धाममा पुजन गर्नेले, जल खानाले रोग व्यथा हराउने तथा दीर्घजीवन हुने धार्मीक विश्वास समेत रहेको र सालिकराम क्षेत्र, उत्तरायन कृष्ण गण्डकी बग्ने भएकोले यस क्षेत्रको बढी महत्व रहेको पाईन्छ ।
सोही अवसरमा महामृत्युन्जय शिवासन धाम बराङ्दीमा प्रदेश सांसद वीर बहादुर राना, बगनासकाली गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठक, सुरक्षा निकायका प्रमुखहरु, लिला अर्याल लगाएत रुद्राभिषेकमा सहभागी हुनुभएको थियो । सो अवसरमा प्रदेश सांसद रानाले धार्मिक पर्यटनको सम्भावना तीव्र रहेको भन्दै यस प्रकारका धामको संरक्षण र प्रचारप्रसार गर्नु सबैको दायित्व रहेको बताउनुभयो । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले धार्मिक पर्यटनलाई ध्यानमा राखेर योजना निर्माणमा लागेको बताउनुभयो । सोमबारे औंशी व्रत एकैसाथ भएकाले पूजा गर्दा पितृको समेत उद्दार हुने विश्वासले पूजा गर्न शिवासन धाममा आएको तानसेन निवासी गिता शर्माले बताउनुभयो । श्रावण महिना भगवान भोलेनाथको प्रिय महिना रहेको र यस महिनामा शिवालयमा गई शिव पुजन, जलार्पण तथा भजन कृतन गर्दा अनन्य पुण्य आर्जन हुने विभिन्न शास्त्रहरूमा उल्लेख छ।
यसै धार्मिक भनाइलाई आधार मान्दै मन्दिर स्थापना काल देखि नै निरन्तर श्रावण महिनाका सोमबार भरि नै भक्तजनहरुको बाक्लो उपस्थिति रहेको मन्दिरका पण्डित लालप्रसाद पन्थीले जानकारी दिनुभयो । शिवासन धामका अध्यक्ष केशव रायमाझीले धामले निर्माणको काम गरिरहेको बताउँदै नेपालकै नमूना बनाउने प्रयत्न भैरहेको बताउनु भयो ।