पाल्पा  प्रहरीको कार्यसमीक्षा

 कमल अधिकारी

पाल्पा । आर्थिक वर्ष २०७९/२०८० अन्तिम दिन अर्थात असार ३१ गते जिल्ला प्रहरी कार्यालय पाल्पाले कार्य समीक्षाको नतिजा सार्वजनिक गरेको छ । पत्रकार भेटघाट मार्फत सार्वजनिक विवरणमा पछिल्ला आर्थिक वर्षमा जिल्लामा अपराधिक घटनामा वृद्धी भएको देखिन्छ । विगत तीन वर्षको तथ्यांकलाई हेर्दा यस्तो अवस्था पाइएको हो । तर जिल्लाको शान्ति सुरक्षाका लागि प्रहरीको सक्रिय मात्र भएर नपुग्ने भएपनि स्थानीय सरकार र अन्य सरोकारवालाहरुले यस विषयमा ध्यान दिन नसक्दा समस्या थपिदै गएको छ । प्रहरीको सक्रियताका कारण शान्ति सुरक्षाको विषयमा प्रगति देखिदा घटना बढी देखिनु स्वभाविक भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माको भनाइ छ । जिल्लामा विगतको तुलनामा अपराध तथा अभियुक्त पक्राउको संख्या बढेको भएपनि सुरक्षा चुनौती नभएको उहाँको दावी छ ।

जिल्लामा पछिल्ला वर्षमा आत्महत्याका घटनामा वृद्धि भएको छ । पाल्पामा आर्थिक वर्ष २०७७/७८ मा ७६ जनाले आत्महत्या गरेका थिए । यस्तै २०७८÷७९ मा ७२ जना रहेकोमा यो संख्या गत आर्थिक वर्ष २०७९/८० मा बढेर ८६ पुगेको प्रहरी प्रमुख शर्माले जानकारी दिनुभयो । उहाँले आत्महत्याका घटना बढ्नुमा मानसिक रोग, अपमान बोध, लागु औषध सेवन, मादक पदार्थ सेवन, चरम आर्थिक नोक्सानी, असफल प्रेम जस्ता कारण मुख्य भेटिएको बताउनुभयो । यसका साथै उदास र निराशावादी भावना, अत्याधिक रिस, सहन नसक्ने घटना, गम्भीर प्रकृतीका रोग, असन्तुष्टि, दव्र्यवहार, पारिवारीक कलह, अस्वभाविक उच्च अपेक्षा जस्ता कारणले आत्महत्या बढेको प्रहरी प्रमुख शर्माको भनाइ छ ।

गत वर्ष जिल्लामा नदिजन्य उत्खनन् र कारवाहीका घटनामा समेत वृद्धि भएका छन् । आर्थिक वर्ष २०७९/८० मा नदिजन्य चोरीका घटनाबाट एक सय १६ सवारी साधन पक्राउ परेका छन् । भने सोहि प्रकृतिको घटनामा आर्थिक वर्ष २०७७/७८ मा २७ र आर्थिक वर्ष २०७८/७९ मा ६३ वटा सवारी नियन्त्रणमा लिएर कारवाही गर्न सफल भएको प्रहरीको दावी छ । प्रहरीका अनुसार जिल्लामा लागुऔषध अपराधका घटना बढेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा ६ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७८/७९ मा ६ जना पक्राउ गर्दा आर्थिक वर्ष २०७९/८० मा ११ जना पक्राउ गर्न सफल भएको पाइएको छ ।

प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा आर्थिक वर्ष २०७७/७८ मा ५४ जनाले ज्यान गुमाएका थिए भने आर्थिक वर्ष २०७८/७९ मा घटेर मृत्यु हुनेको संख्या २५ मा झरेको थियो । आर्थिक वर्ष २०७९/८० मा भने सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या पनि बढेर ४० जना पुगेको छ । गत आर्थिक वर्षमा रिब्दीकोट ५ कुसुमखोला माराबासको वृद्ध महिला हत्याको घटना हालसम्म पनि पत्ता लाग्न नसकेको बताउँदै प्रहरी प्रमुख शर्माले उक्त घटना अझै पनि अनुसन्धानकै क्रममा रहेको पत्रकारहरुलाई जानकारी दिनुभयो ।

यसका साथै अझै पनि विभिन्न अपराधमा संलग्न केही अभियुक्त पक्राउ गर्न बाँकी रहेको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले प्रहरीले गरेका कार्य राम्रो रहेको र आगामी दिनमा पनि थप सक्रियता आवश्यक रहेको बताउनुभयो । जिल्लाका सञ्चार माध्यमबाट प्रहरीलाई पूर्ण रुपमा सहयोग रहेको जनाउँदै गोप्य सूचना नलुकाउन र पत्रकारसंग साझेदारी गरेर अघि बढ्न सुझाव दिनुभयो ।

सम्बन्धित खवर