पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (बसन्त) ले संघीय व्यवस्था गलत नभएको जिकीर गर्नुभएको छ । उहाँले शासन प्रणालीलाई दोष दिएर कोही पनि उम्किन नहुने बताउदै देश समृद्ध बनाउन राज्य संचालन गर्ने शासकहरु इमान्दा भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मंगलबार पाल्पाको रिब्दीकोट गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घर्तीले संघीय शासान प्रणालीमा जनप्रतिनिधिको संख्या हेरेर व्यवस्थाप्रति प्रश्न गर्न नहुने उहाँको भनाइ थियो । जनप्रतिनिधिहरुको संख्या धेरै देखिदा सेवा सुविधा महंगो हुँनु स्वभाविक भएको बताउँदै खर्च अनुसार नागरिकको सेवा सुविधा प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय स्थानीय सरकारका जनप्रतिनिधिहरु जनताको काम गाउँबस्तीमा पुगेर गरेका कारण नै संघीयताको मर्म पूरा हुँदै गएको दावी गर्नुभयो ।
सभामुख घर्तीले कुन प्रणाली चलाउदा देश कंगाल हुन्छ ? कुन प्रणालीले देश समृद्ध हुन्छ भन्ने शासान प्रणालीको कुरा मुख्य हुन्न्, त्यो देशका शासकहरुमा भरपर्ने भएको हुँदा शासक इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । संघीय शासन प्रणालीमा प्रदेशका पाँच सय ५० जना सासंदको तलब र भत्ता हेर्नुभो भने महंगो हुन्छ । तर, तिनीहरुले बस्ती बस्तीमा पुगेर गरेका कामलाई मूल्यांकन गर्दा त्यसको उपलब्धी धेरै गुना रहेको सभामुख घर्तीले बताउनुभयो ।
पछिल्लो समय गाउँहरु रित्तिदै गएको सन्दर्भमा तीनै तहका सरकारले कृषि, पशुपालन र अन्य आर्य आर्जनका लागि विकल्पका कार्यक्रममा जोड दिनुपर्ने समय आएको बताउनुभयो । परम्परागत रुपमा हुँदै आएका कार्यबाट नागरिकको जीविकोपार्जन हुन नसक्ने बताउँदै आधुनिक प्रविधिको विकासमा जोड दिएर स्वरोजगारमा वृद्धि गर्नका लागि स्थानीय तहले पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।
संविधान अनुसार तीनै तहको राज्य संचालन भएको र कोही कसैले विरोध गरेर व्यवस्था परिवर्तन नहुने उहाँले बताउनुभयो । संघीयताकै कारण नागरिकको तल्लो तहसम्म सरकार पुगेको हुँदा केही कमी कमजोरी देखिएमा संसोधन गरेर अघि बढ्न सकिने तर व्यवस्था नै खराब हो भनेर बोल्नु गलत रहेको सभामुख घर्तीले बताउनुभयो ।