
पाल्पा । नेपाली सेनाको नेतृत्वमा सञ्चालन हुने जुनियर एनसीसी तालिम दमकडा नमुना माध्यमिक विद्यालय र दिव्य ज्योती माध्यमिक विद्यालयमा सुरु भएको छ ।
माथागढी ३ को दिव्य ज्योति माध्यमिक विद्यालय ३६ र तानसेन ९ को दमकडा माध्यमिक विद्यालयका ३६ गरी कुल ७२ जना विद्यार्थीहरू सहभागी रहेका छन् । कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी तालिम जुनियर तहको हो ।
छ महिनासम्म सञ्चालन हुने तालिमले विद्यार्थीमा देशभक्ति, आत्मविश्वास, नेतृत्व विकास गर्नमा सहयोग पुग्ने तानसेनको नेपाली सेनाको दि फेमस महिन्द्र दल गणका गणपति प्रमुख सेनानी बालमुकुन्द विष्टले जानकारी दिनुभयो ।
सहभागी विद्यार्थीहरुलाई प्रथम प्रवचन दिदै प्रमुख सेनानी विष्टले अनुशासितपूर्वक तालिममा सहभागी हुन आग्रह गर्नुभयो । विद्यालयमा अध्ययनरत क्याडरहरूको पढाईसँगै एससीसीको तालिम पूरा गर्दा केही अप्ठेरो भएपनि अन्तत त्यसले व्यक्ति, समाज र देशलाई असल बनाउने उहाँको विस्वास छ ।
देशभरका ७ हजार ७ सय बढी विद्यार्थी जुनियर एनसीसी तालिममा सहभागी हुनेछन् । त्यसमध्ये पाल्पामा यो वर्षका लागि दुई वटा विद्यालयका विद्यार्थीहरू एनसीसी तालिमका लागि छनौट भएकाे बताउनुभयो ।
तालिमको प्रथम प्रवचन कार्यक्रममा दिव्य ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले विद्यार्थीलाई सभ्य, अुनशासित र असल नागरिक बनाउन एनसीसी तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
तालिम लिएपछि भविष्यमा सेना प्रहरी लगायतका सुरक्षा फौजको छनौटका लागि प्राथमिकतामा परिने भएकोले लगनशील भएर तालिममा सहभागी हुन दमकडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले आग्रह गर्नुभयो ।
एनसीसी तालिममा छनौट हुनका लागि नेपाली सेनाले विभिन्न मापदण्ड पुरा गर्नुपर्छ । तालिममा सहभागि विद्यार्थीहरुले आफूलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सेनामा भर्ना हुने ईच्छा भएकोले अहिले एनसीसी तालिममा सहभागी भएको बताएका छन् ।