चौतारीको समीक्षा तथा योजना तर्जुमा बैठक

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले वितेको आर्थिक वर्षको समीक्षा र नयाँ आर्थिक वर्ष २०८०÷८१ को योजना तर्जुमा बैठक सम्पन्न गरेको छ । नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेकपा एमालेको तर्फबाट स्थानीय तहमा निर्वाचित गाउँपालिका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

बैठकमा आर्थिक वर्ष २०७९÷८० मा सम्पादन गरिएका काम, समन्वय र सहकार्यको अवस्थाका विषयमा छलफल गर्दै आगामी दिनमा थप क्रियाशीलता बढाएर जनताको हितकेन्द्रित काम समन्वय र सहकार्यमा गर्ने गरी योजना तयार गरिएको प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो ।

बैठकमा नयाँ आर्थिक वर्षमा सञ्चालन गरिने प्राथमिकतामा राखिएका विषय योजना तथा कार्यक्रमको प्रस्ताव बारे संगठनका सचिव नारायण न्यौपानेले प्रस्तुति राख्नु भएको थियो । डिजिटल चौतारी क्षमतावान चौतारीकर्मी नाराका साथ क्षमता विकास वर्षका रुपमा अगाडि सारिएको योजना तथा कार्यक्रमहरुमा प्रविधिमा आत्मनिर्भर पाल्पा चौतारी कार्यक्रम अन्तर्गत प्राविधिक औजार खरिद तथा व्यवस्थापन, चौतारी अनलाइन सञ्चालन, चौतारीका पाहुनाको डिजिटल प्रशारण, फेसबुक पेजको प्रभावकारीतामा वृद्धि रहेको छ । यस्तै गरी संगठन विस्तार कार्यक्रम अन्तर्गत गाउँ कमिटी अध्यक्ष, चौतारी र जनप्रतिनिधिको समन्वयात्मक बैठक, आठ गाउँपालिकामा चौतारीको कमिटी विस्तार, कम्तीमा १ वडा एक चौतारी सदस्य (पत्रकार) तयार गर्ने लक्ष्य राखिएको सचिव न्यौपानेले बताउनुभयो ।

यसका साथै क्षमता विकास कार्यक्रम अन्तर्गत आधारभूत पत्रकारिता तालिम, खोज पत्रकारिता तालिम सञ्चालन गर्ने, पार्टीको सैद्धान्तिक वैचारिक बन्द कक्षा सञ्चालन, एक सदस्य एक मिडिया अनिर्वाय कार्यक्रम कडाईका साथ लागु गरिने कार्ययोजना तयार गरिने भएको छ । संस्थागत कोष वृद्धि कार्यक्रम अन्तर्गत चौमासिक बुलेटिन प्रकाशन, भित्तेपात्रो प्रकाशन, देउसी भैलो कार्यक्रम, चौतारीमा विशेष दिन कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने कोषाध्यक्ष नेत्रप्रसाद गैरेले जानकारी दिनुभयो ।

यस्तै संस्थागत विकास अन्तर्गतका कार्यक्रममा वार्षिक साधारण सभा, चियापान तथा शुभकामना आदान प्रदान, लिडर प्रकाशन, घुम्ती बैठक (गाउँ, जिल्ला, प्रदेश र विदेश), स्थापना दिवस र भैपरि आउने गतिविधि सञ्चालन गरिने सचिव न्यौपानेले बताउनुभयो । यसका साथै प्रस्तावित कार्यक्रमहरुमा दुःखमा चौतारीको हात र साथ’ कार्यक्रम अन्तरगत एघार लाख बराबरको पत्रकार कल्याणकारी कोष स्थापना गरिने छ । समन्वय र सहकार्य कार्यक्रम अन्तर्गत जिल्ला पार्टी कमिटी पदाधिकारी, गाउँ कमिटी पादाधिकारी, चौतारी र जनप्रतिनिधि बीच समन्वय बैठक, पार्टीका जनसंगठनहरुसंगको बैठक र मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने छ ।

संगठनमा आवद्ध सदस्यहरुको प्रोत्साहन कार्यक्रम अन्तर्गत मायाको चिनो वितरण, अवलोकन भ्रमण र अन्तर क्रियात्मक वनभोज गरिने गरी बैठकमा योजना तथा कार्यक्रम प्रस्ताव गरिएको सचिव न्यौपानेले जानकारी दिनुभयो । बैठकमा नेकपा एमाले पाल्पाका अध्यक्ष घिमिरेले प्रेस चौतारी नेपाल पाल्पाको गतिशीलताको प्रशंसा गर्नुभयो । उहाँले निष्पक्ष रुपमा वर्गीय हित हुने गरी पत्रकारहरुले समाचार लेख्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय