पूर्णखोप सुनिश्चितता जिल्ला बन्यो पाल्पा

पाल्पा । पाल्पा पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला बनेको छ । पाल्पाका १० वटै स्थानीय तहहरु पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा सम्पन्न भएपछि जिल्ला घोषणा गरिएको हो । हरेक वर्षको जेष्ठ महिनामा पालिकाहरुलाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिन्छ । जिल्ला खोप समन्वय समितिले सबै स्थानीय तहको सबै वडामा पुगेर लक्षित बालबालिका भएका घरमा शुलभ सर्वेक्षण गरेपछि घोषणा गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा प्रतिवेदन २०८० प्रस्तुत गर्नुभयो । पाल्पा जिल्लाका १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिएर पूर्ण खोप पाएको सुनिश्चितता गरिएको हो । पूर्णखोप सुनिश्चितता कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रतिबद्धता गरेको छ । कार्यक्रमका सहभागिहरुले प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका छन् ।

प्रदेश खोप समन्वय समिति लुम्बिनी प्रदेशका सदस्य सचिव विनोद कुमार गिरीले खोप समन्वय समिति पाल्पाका संयोजक टंकनाथ खनाल र सदस्य सचिव राजेन्द्र गिरिलाई पूर्णखोप सुनिश्चितता घोषणा प्रमाणपत्र प्रदान गर्नुभयो । स्वास्थ्य निर्देशनालयका डाक्टर गिरिले पूर्णखोप घोषणा गर्नु आफैमा महत्वपूर्ण कार्य भएता पनि यसको दिगोपना कायम गरी निरन्तरता दिनु अझै महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो । गिरीले सरकारले वैशाख महिनालाई खोप महिनाको रुपमा मनाइने नीति लिएको बताउनुभयो ।

पूर्णखोप पाएको सुनिश्चित गर्न २०६९ सालबाट सुरु गरिएको यस कार्यक्रम पछि पाल्पालाई २०७० फागुन १३ गते पहिलो पटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । समितिका अनुसार गत आर्थिक वर्षमा ३ हजार ८ सय ५५ जना र आर्थिक वर्ष २०७९÷८० मा ३ हजार २ सय ३१ जनाले पूर्ण खोप पाएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य ठाकुर गैरेले राज्यले सबै नागरिकको स्वास्थ्यको जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । खोप मात्रै होइन अन्य जटिल रोगको उपचारको व्यवस्थामा समेत राज्यले लगानी गरिरहेको जानकारी उहाँले दिनुभयो ।  लुम्बिनी प्रदेशसभा सदस्य वीर बहादुर रानाले अहिलेको खानपानले बालबालिकाहरु अस्वस्थ हुँदै गइरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । रानाले कार्यक्रममा लक्षित वर्ग प्रति खर्च बढाउनु पर्ने र घोषणा कार्यक्रम सामान्य ढंगले गर्दै मितव्ययी हुनुपर्ने विषयमा जोड दिनुभयो ।

अर्का लुम्बिनी प्रदेशसभा सदस्य खेम बहादुर सारुले पाल्पालाई मानव विकास सूचकांकको सूचीमा माथी उठाउन स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधीहरु लागिपर्नु जरुरी रहेको बताउनुभयो । सारुले यसको दिगोपनामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बालबालिका लाई लगाईने खोप राज्यको खर्च नभई लगानी भएको भन्दै यसको दिगोपनाका लागि स्थानीय तहहरु लागिपर्ने बताउनुभयो । त्यस्तै गाउँपालिका प्रमुखहरुको तर्फबाट बोल्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले खोप सेवाको लक्ष्य, उद्देश्य र प्रतिवद्धता अनुसार खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मुलनमा तीव्रता दिनुपर्ने बताउनुभयो ।

पाल्पामा आर्थिक वर्ष २०७८÷७९ मा जन्मेदेखि ५ वर्ष मुनिका ४ हजार २ सय १२ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसारको तोकिएका खोप प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । कार्यक्रममा सबै पालिकाका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित खवर