
पाल्पा । पूर्वखोला २ जल्पा मैदानका कृषकले व्यवसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्न थालेको बताएका छन् ।
लुम्बिनी प्रदेशको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको सहजीकरणमा आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको स्मार्ट कृषि गाँउ कार्यक्रममा आबद्ध कृषक समूहका सदस्यले यस्तो बताएका हुन् । विज्ञ केन्द्रले गरेको सरोकारवालाहरु सहितको संयुक्त अनुगमनका क्रममा बाख्रापालक किसानहरुले ज्ञान, सीप, बाख्रा र पूर्वाधारमा सहयोग पाइएकोले आर्थिक आर्यआर्जन गर्न सकिएको बताएका हुन् । खरि र वोयर जातका बाख्रा पालेका समूहमा आवद्ध कृषकहरुले वार्षिक १५ लाख बढी आम्दानी गर्ने गरेको बताए ।
अनुगमन कार्यक्रममा प्रदेश सभा सदस्य खेमबहादुर सारुले कार्यक्रमको उद्देश्य अनुसार कृषकहरुले फाईदा लिन सफल भएको पाइएको बताए । उनले ठीक ठाउँमा लगानी गर्दा उपलब्धी राम्रो हुन्छ भन्ने उदाहरण मैदान कृषि समूहले दिएको बताउँदै यसले आर्थिक समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रदेश सभा सदस्य सारुले आर्थिक विकाससंगै चेतना र मानवीय क्षमताको विकासमा लाग्न आग्रह समेत गरे । कृषकका लागि प्राप्त लगानीको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै आफ्नो पक्षबाट वडाको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
लुम्बिनी प्रदेशको मौलिक पहिचान भएका कृषिवस्तु तथा सेवाको उत्पादन तथा प्रवद्र्धनका लागि कृषक समूहको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको विज्ञ केन्द्रका कार्यालय प्रमुख दुर्गाप्रसाद खनालले बताए । उनले प्रत्येक निर्वाचन क्षेत्रको कम्तीमा एक स्थानमा दिगो कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जना गर्दै कृषकको आयस्तर वृद्धिका साथै खाद्य सुरक्षामा सुधार गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम लागु गरिएको जानकारी दिए । पाल्पामा ४ स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएको समेत बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरे, पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले अनुदान नआउँदा पनि यस्तै उत्साहका साथ काम गर्नुपर्ने बताए । उनीहरुले सरकारको लगानी अनुसार प्रतिफल देखिएको बताउँदै यसलाई संस्थागत भएर आम्दानी दिन आग्रह समेत गरे ।
यस स्मार्ट कृषि गाउँ कार्यक्रमा मैदानका ५० घरधुरी समेटिएको छ । कार्यक्रम सुरु गर्ने समयमा जम्मा ७ सय बाख्रा संख्या भएकोमा अहिले कार्यक्रम पछि बाख्राको संख्या २ हजार नाघेको विज्ञ केन्द्रका पशु चिकित्सक डा. नविन बस्यालले बताए । उनका अनुसार अहिले मासुका लागि करिव १ हजार २ सय बाख्रा तयारी अवस्थामा रहेको बताए । अधिकांश कृषकको घरमा २० देखि माथीको संख्यामा बाख्रा रहेका छन् भने ४० भन्दा माथी बाख्रा पाल्ने कृषकको संख्या २० घरधुरी रहेको डा. बस्यालको भनाइ छ ।
कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाई कृषकहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी दिगो आयस्तर विकास गर्न कार्यक्रम सञ्चालन गरिएको विज्ञ केन्द्रका पशु सेवा प्राविधिक युवराज ज्ञवालीले बताए । उनले महिला तथा युवा उद्यमशीलताको विकास गर्दै कृषिमा रोजगारीका अवसरहरु सिर्जना गरी बेरोजगारी समस्या न्यूनीकरण कार्यक्रमले मद्दत गरेको बताए ।
कार्यक्रम अन्तरगत जलवायु स्मार्ट, सिंचाई स्मार्ट, खाद्य तथा पोषण स्मार्ट, प्रविधि स्मार्ट र बजार स्मार्टका क्षेत्रमा काम गरिएको समूहकी संयोजक चन्द्रीसरा रखालले बताइन् । उनले सूचना केन्द्र व्यवस्थापन, बोर्ड लेखन, हिलट्यांकी खरिद ढुवानी र वितरण, सिंचाईको लागि गार्डेन पाइप वितरण, भुई घास तथा डाले घास र वहुवर्षीय घाँस खेति, फिड सप्लिमेण्ट वितरण र परजीवि नियन्त्रण, आधुनिक खोर निर्माण, उन्नत नश्लको बोका खरिद, पशु स्वास्थ्य शिविर, यान्त्रिकीकरण कार्यक्रम, संकलन केन्द्र निर्माण, डिजिटल तराजु खरिद कार्यक्रम बारे सार्वजनिक सुनुवाइ लगायतका कार्यक्रम गरिएको संयोजक रखाले जानकारी गराइन् ।
स्मार्ट गाउँ कार्यक्रमका लागि पहिलो वर्ष विज्ञ केन्द्रको ८० प्रतिशत र पूर्वखोला गाउँपालिका र समूहको २० प्रतिशत, दोस्रो वर्ष विज्ञ केन्द्रको ७० प्रतिशत र पूर्वखोला गाउँपालिका र समूहको ३० प्रतिशत र अन्तिम वर्ष ५० प्रतिशत लागत साझेदारीमा काम भएको सहजकर्ता खुमबहादुर बाह्रघरेले जानकारी दिए । उनले व्यवसायिक रुपमा बाख्रापालनमा कृषक उत्साहित भएकोले आगामी दिनमा सहकारी संस्था मार्फत काम गर्ने योजना रहेको बताए ।