
पाल्पा । पूर्वखोला गाउँपालिकाले हरेक नागरिकको सहज पहुँच हुने गरी स्वास्थ्य सेवा उपलब्ध गराएको जनाएको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा स्तनपान सप्ताह, भिटामिन ए कार्यक्रम, क्षयरोग खोजपडताल कार्यक्रम गरेको छ । जसमा देवीनगरमा १२ जनाको परीक्षण गर्दा २ जना पोजिटिभ भेटिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले जानकारी दिए । यसका साथै सिलुवामा ५५ जनाको खकार संकलन गरेकोमा २ जना पोजेटिभ भेटिएपछि उनीहरुको उपचार सुरु गरिएको बताए । गाउँपालिका भित्र अहिले ३६ जना नयाँ तथा दोहोरिएका क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा उपचार गरिएको छ ।
गाउँपालिकामा स्वास्थ्य सम्बन्धी कार्यक्रमको समीक्षा, विभिन्न तालिम तथा दिवस मनाइएको छ । यसका साथै विकटबस्तीका जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी २ नं. वडाको धुसेनीमा गाउँघर क्लिनिक स्थापना गरिएको अध्यक्ष नुनबहादुर थापाले बताए । उनले स्वास्थ्य सेवा लिने विषयमा जनचेतना महत्वपूर्ण हुने भएकाले विद्यालय र समुदायस्तरमा सरुवा रोग तथा नसर्ने रोग सम्बन्धी सचेतनाका कार्यक्रम गरिएको बताए । यसका साथै समुदायमा बालविवाह न्यूनीकरणका लागि किशोर किशोरी तथा बा आमा समूहलाई जनचेतनामुलक कार्यक्रम समेत गरिएको बताए ।
गर्भवती महिलाहरुहरुको स्वास्थ्यलाई ध्यानमा राखेर सुरु गरेको भिडियो एक्सरे सेवा अहिले सम्म एक सय ९७ जनाले सेवा लिएका छन् । जसले गर्दा महिलाहरुलाई नियमित चेकजाँच स्थानीय स्तरमै गर्न पाउँदा समयसंगै खर्चको समेत बचत भएको संयोजक ढकालको भनाइ छ ।
अहिलेसम्म संस्थागत सुत्केरी हुनेको संख्या एक सय जना पुगेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकामा रहेको २ सय २० जना बच्चालाई पूर्णखोप लगाइएको छ । चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म १६ हजार ३ सय ७२ जना नयाँ बिरामीले स्वास्थ्य संस्थाबाट औषधि उपचार सेवा लिएको संयोजक ढकालले बताए । यस्तै सुरक्षित गर्भपतन सेवा सबै स्वास्थ्य चौकीमा सुरुवात गरिएको बताउँदै ४० जनाले हाल सम्म गर्भपतन सेवा लिएको उनले बताए । गाउँपालिका भित्रका हाल सम्म एक सय ८५ जना गर्भवती महिलाहरुलाई संस्थागत सुत्केरी सुनिश्चित गर्न ४ पटक परीक्षण गर्नेलाई अण्डा वितरण गरिएको संयोजक ढकालले बताए ।
यसका साथै मृगौला प्रत्यारोपण गरेका डायालाईसिस गरेका र क्यान्सर भएका ३१ जनालाई मासिक यातायात खर्च व्यक्तिको बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको छ । जटिल खालको रोग लागेका १४ जनालाई नेपाल सरकारबाट दिइने बिपन्न नागरिक औषधि उपचार खर्चको लागि सिफारिस गरिएको, महिलाको पाठेघरको क्यान्सर सम्बन्धी शिविर संचालन गरी ४ सय २७ जनालाई सेवा दिएको छ । ६ वटै वडामा आँखा शिविर संचालन गरि २५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
ज्येष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम अन्तरगत ६ सय १० जना ज्येष्ठ नागरिक तथा ४९ जना अपांगलाई घरमा नै गई स्वास्थ्य उपचार तथा परामर्श सेवा दिइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बताए । उनले शिक्षक तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि नाक, कान, घाटी तथा मुख स्वास्थ्य तालिम, ३८ वटा विद्यालयको स्वास्थ्य फोकल शिक्षकलाई आँखा सम्बन्धी तालिम र ३० जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई आँखा जाँच सम्बन्धी तालिम दिएको बताए ।
गाउँपालिकाले ४० देखि ७० वर्ष सम्मका नागरिकका लागि शिविर आयोजना गरी महिला एक हजार ५ सय ८६ जना र पुरुष ८ सय ९२ जनालाई मधुमेह र उच्च रक्तचाप जाँच गरिएको जनाएको छ । जसमा महिला ३ सय ८९ र पुरुष २ सय ७३ जनालाई मधुमेहको संकास्पद अवस्था भेटिए भने महिला ४ सय १९ र पुरुष ३ सय ३ जनालाई उच्च रक्तचाप देखिएको छ ।








