पाल्पा । कल्भर्ट र कच्वे निर्माणको काम अव्यवस्थित रुपमा गर्दा सवारी साधन र यात्रुले सास्ती खेप्नुपरेको छ । तानसेन रिडी वाइपास सडकको होलाङदी–ढुंगाखानी खण्डको डिभिजन वन कार्यालय नजिक कल्भर्ट र माझखोलामा कच्वे निर्माण कार्य व्यवस्थित गर्न नसक्दा सवारी साधन र नागरिकले आवज जावतमा सास्ती खेप्नु परेको हो ।
यस सडकमा निर्माण कार्य गर्नका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रमुख जिल्ला अधिकारीको सहमतिमा २७ दिन सडक बन्द गरेर काम गर्ने योजना अनुसार सार्वजनिक सूचना निकालेर काम सुरु गरिएको थियो । तीन दिन समय बित्न नपाउदै प्रमुख जिल्ला अधिकार बन्धुप्रसाद बास्तोला आफ्नो निर्णयमा अडिन नसक्दा जनताले दुःख पाएका हुन् । निर्माण कार्य गर्दा सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीका टिप्पर र सीजी सिमेन्ट कम्पनीका टिप्पर, ट्रक सञ्चालनमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारी बास्तोला सहितको टोली निर्माण स्थलमै पुगेर आफूले गरेको निर्णय बिर्सेर एकतर्फि रुपमा सवारी साधन चलाएर काम गर्न निर्देशन दिएपछि काम लथालिंग भएको हो ।
निर्माण कार्यलाई सुरक्षित गर्न तयार गरिएको बाइपास सडक हिलाम्मे भएको छ । टिप्पर र ठूला मालबाहक ट्रकहरु डाइभर्सन प्रयोग गर्दा फस्ने र टायरमा लागेको हिलो माटोले थप अन्य क्षेत्रको कालोपत्रे सडक समेत हिलाम्य बनाएको छ । जसका कारण पानी आउदा हिलाम्य र घाम लाग्दा धुलो हुँदा सडक प्रयोग गर्ने यात्रु, बटुवा र सवारी साधन सबैलाई सास्ती भएको स्थानीय ज्योती रायमाझीले गुनासो गरिन् । जसका कारण मोटरसाइकल तथा साना सवारी साधन चल्न नसक्ने अवस्था बनेको छ ।
ठूला सवारी साधन जबर्जस्ती रुपमा कल्भर्टबाटै चल्न थालेका छन् । हिलाम्य सडक हुँदा वन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समेत समस्या भएको छ । सडक पूर्वाधार विकास कार्यालय पाल्पाले होलाङ्दी – ढुंगाखानी सडक अन्तर्गत माझखोलामा कच्वे र वन कार्यालय नजिक कल्भर्ट सहित वरपरको क्षेत्रमा कालोपत्र गर्ने काम असार १५ मा सक्ने गरी भ्याट बाहेक ६७ लाख रुपैयाँमा प्रसिद्ध निर्माण सेवा बुटवललाई निर्माणको ठेक्का दिइएको कार्यालय प्रमुख अरुण गुप्ताले जानकारी दिए । निर्माण कार्यको म्याद सकिए पनि काम भने सकिएको छैन । यसका अलवा मुख्य निर्माण व्यवसायीले काम नगर्ने र दोस्रो पक्षलाई जिम्मा दिने भएकाले पनि काममा ढिलाइ भएको प्रमुख गुप्ताको भनाइ छ । सडक बन्द गरेर नियमित रुपमा काम गर्ने वातावरण नहँुदा पनि काममा ढिलाइ भएको हो । सीजी सिमेन्ट कम्पनीका १० देखि १४ चक्के क्षमताभन्दा बढी भार बोकेका टिप्पर, ट्रकका कारण सडक निर्माणमा समस्या आएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
निर्माण व्यवसायीका प्रतिनिधि गोकुल पौडेलका अनुसार योजना अनुसार काम गर्न नपाउँदा समयमा काम सम्पन्न गर्न समस्या भएको बताए । उनले नियमित ठूला सवारी साधन गुड्दा र निरन्तर पानी आएका कारण ग्राभेल जम्ने अवस्था नभएकोले पनि सडक बिग्रीएर यात्रुले दुःख पाएको बताए । पौडेलका अनुसार अधिकांश काम सकिएको र वरपरको सडक कालोपत्रे र सरसफाईको काम बाँकी भएको तर पानी परिरहेकोले कार्यसम्पन्न गर्न नसकिएको बताए ।