रम्भाको स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम

 रीमा सोमै

पाल्पा  । रम्भा गाउँपालिकाले आमा सुरक्षा कार्यक्रमलाई विशेष प्राथमिकता दिएर स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाएको छ  । शून्य होम डेलिभरी कार्यक्रमलाई निरन्तरता दिनको लागि आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए  ।

गाउँपालिका भित्र ५ वटा वडामा रहेका स्वास्थ्य संस्थामा प्रसुति सेवा (बर्थि· सेन्टर) सञ्चालनमा ल्याइएको छ । स्थानीयस्तरमा बर्थि· सेन्टर सुरु भएपछि स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिन आउनेको संख्यामा वृद्धि भएको छ । जसले गर्दा केही जटिलता देखिएमा समयमै सुविधा सम्पन्न अस्पताल सम्म पुग्नको लागि गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको संयोजक अर्यालको भनाइ छ  । गाउँपालिकाका ५ स्वास्थ्य संस्थामा निःशुल्क प्रयोगशाला सेवा उपलब्ध छ  ।

यसका साथै कोभिड विरुद्धको खोप अभियान चलेको छ  । यसमा ९० प्रतिशत प्रगति देखिएको छ  । वडा स्तरमा १५ देखि ४९ वर्षका प्रजनन् उमेर समूहका महिलाहरुलाइ यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ  । गाउँपालिकामा रक्तदान जीवन दान कार्यक्रम संचालन गरिएको संयोजक अर्यालले बताए  । गाउँपालिकामा यस आर्थिक वर्षमा अहिले सम्म २८ हजार ५ सय जनाले स्वास्थ्य सेवा लिएका छन्  । यसमा बिरामी सेवा, पोषण सेवा, परिवार नियोजन सेवा तथा समुदायमा आधारित शिशुहरु तथा बालबालिकाको एकीकृत व्यवस्थापन लगायतका सेवा रहेको उनको भनाइ छ  ।

स्वास्थ्य संस्थाबाट विशेष गरेर ग्यास्ट्रीक, उच्च रक्तचाप, श्वासप्रश्वास, छाला, रुघाखोकी, मधुमेह लगायताका बिरामीले सहज रुपमा सेवा प्राप्त गरेका छन्  । यसका साथै जनताको माग र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न स्वास्थ्य निकायहरुको समन्वय र सहकार्यमा शिविरहरु सञ्चालन गर्ने गरिएको गाउँपालिकाले जनाएको छ  । यस वर्ष गरिएको आँखा परीक्षण शिविरबाट प्राप्त नतिजा अनुसार ३० जनालाई मोति विन्दुको शल्यक्रिया सेवा उपलब्ध गराएको जनस्वास्थ्य निरीक्षक महेश आचार्यले जानकारी दिए  ।

यसका साथै पाठेघरको मुखको क्यान्सर तीन सय ८० जनाको जाँच गरिएकोमा १२ जनामा समस्या देखिएकोले निःशुल्क रुपमा उपचार गर्न गाउँपालिकाको सहयोग रहेको उनले बताए  । गाउँपालिका भित्र रहेका महिलाहरु गर्भ जाँच गर्न आउँदा १ क्यारेट अण्डा, स्वास्थ्य संस्थामा बच्चाको जन्म भई ३५ दिन भित्र जन्मदर्ता गराएमा गाउँपालिकाले एक हजार ५ सय रुपैयाँ र पोषणयुक्त खाद्यान्न सहितको ५ केजी पोषण झोला वितरण गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए  ।

गाउँपालिका भित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र ४ वटा स्वास्थ्य चौकी ७ वटा सामुदायिक स्वास्थ्य एकाई र २ वटा आर्युर्वेदिक औषधालय गरी १४ वटा स्वास्थ्य संस्थाबाट ६१ जना स्वास्थ्यकर्मी मार्फत नागरिकलाई सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए  । उनले सेवालाई अझ प्रभावकारी बनाउन र घरघरमा आधारभूत सेवा उपलब्ध गराउन महिला स्वास्थ्य स्ययमसेविकाले पनि सहजीकरण गरिरहेको बताए  । अध्यक्ष भण्डारीका अनुसार गाउँपालिकाले स्थानिय जडिबुटिहरुको प्रशोधनबाट च्यावनप्रास उत्पादन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकको घरघरमा वितरण गरिएको बताए  । उनले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवामा पहुँच वृद्धिका लागि ३ वटा एम्बुलेन्सबाट सेवा दिँदै आएको जानकारी दिए  ।

सम्बन्धित खवर