
दयाराज न्यौपाने
पाल्पा । जिल्लामै पहिलो पटक बगनासकाली गाउँपालिकाले सिभिल प्रयोगशाला सञ्चालनमा ल्याएको हो । बगनासकालीमा बाहेक अन्य पाल्पाका ९ स्थानीय तहमा सिभिल प्रयोगशाला सञ्चालनमा छैन । जसले गर्दा स्थानीय सरकारले गर्ने गरेका पूर्वाधार निर्माणको गुणस्तरका विषयमा एकिन गर्न समस्या हुँदै आएको थियो । प्रयोगशाला सञ्चालनमा आएपछि पूर्वाधार विकासको गुणस्तरको नाप जाँच गर्न सहज हुने गाउँपालिकाले विश्वास लिएको छ ।
बगनासकाली ९ चिलाङ्दीमा २५ लाख बढीको लगानीमा पुल्चोक इन्जिनियरिङ क्याम्पस काठमाडौंले क्यालिबेर्सन टेस्ट गरी अनुमति प्रदान गरी प्रयोगशाला स्थापना भएको हो । विभिन्न १५ प्रकारका सिभिल कामको प्रयोगशालामा जाँच गर्न सकिने छ । एग्रीगेट क्रसिङ भेल्यु टेस्ट, इम्प्याक्ट भेल्यु टेस्ट, Çलाकिनेस इन्डेक्स, फिल्ड डेन्सिटी टेस्ट, प्रोक्टर कम्प्यासन, सिभ एनालाइसिसको जाँच हुन्छ । यस्तै कम्प्रेसिभ स्ट्रेन्थ अफ कन्क्रिट क्युब÷मोर्टार, मेकिङ मोर्टार क्युब, स्लम्प टेस्ट, कम्प्रेसिभ स्ट्रेन्थ टेस्ट, एवस्वरप्सन टेस्ट, मेजरमेन्ट अफ ब्रिक लगायतका जाँच हुने इन्जिनियर प्रमोद कुँवरले बताए ।
गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले सिंगो पाल्पा जिल्लाले पूर्वाधार निर्माणमा गुणस्तरीय काम सुनिश्चित गर्न प्रयोगशालाले मद्दत पु¥याउने बताइन् । सबै पूर्वाधार निर्माण गर्दा त्यसको गुणस्तर परीक्षण गर्नुपर्ने प्रावधान छ तर परीक्षण गर्ने प्रयोगशाला अभाव हुँदा सबै कामको परीक्षण नहुने अवस्था छ । यसरी प्रयोगशालामा नमुना परीक्षण गर्दा कामको गुणस्तर बढ्ने अध्यक्ष चिदीको भनाइ रहेको छ ।
सहुलियत मुल्यमा प्रयोगशाला परीक्षण गर्ने र आन्तरिक आम्दानी वृद्धि गर्ने गरी पाल्पाको सबै स्थानीय तह र निर्माण व्यवसायीलाई लक्षित गरेर स्थानीय तहबाटै प्रयोगशाला स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले बताए । जिल्लामा सिभिल प्रयोगशाला नमूना बोकेर प्रदेश प्रयोगशाला वा बुटवलका अन्य प्रयोगशालासम्म जानुपर्ने बाध्यताको अन्त्य हुने इन्जिनियर कुँवरले बताए । माटो, गिट्टी, इँटा सबैको परीक्षण गर्न सकिने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । जसले अब गुणस्तरीय पूर्वाधार निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।
भौतिक निर्माणको काम गुणस्तरीय भए नभएको ग्यारेण्टीका लागि सिभिल प्रयोगशाला आवश्यक हुन्छ । सडक, पुल, भवन लगायतका पूर्वाधार निर्माण गर्दा त्यसमा प्रयोग गरिएका सामग्रीको गुणस्तर मापन गर्नुपर्ने हुन्छ । प्रयोगशाला नहुँदा निर्माण व्यवसायीहरुको नमूना संकलन र परीक्षणमा समेत कैफियत गर्न सक्ने अवस्था हुन्छ । स्टिमेट भन्दा बाहिरको काम गर्ने, योजना टिकाउ नहुने समस्यालाई प्रयोगशालाबाट प्राप्त हुने नतिजाले खबरदारी गर्नेछ । योजना सञ्चालन गर्नु पूर्व त्यसमा प्रयोग हुने गिट्टी, बालुवा, इँटा, माटो सबैको परीक्षण गर्ने र त्यसको आधारमा काम गर्दा योजना दीगो हुने प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले बताए ।
योजनाको गुणस्तरका विषयमा सही र गलत पत्ता लगाउने प्रयोगशाला नहुँदा अनुमान र भनाइलाई आधार मानेर फरफार गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले बताए । उनले प्रयोगशाला सञ्चालनमा आएपछि परीक्षण गरेर भौतिक पूर्वाधारको गुणस्तर मापन गर्न सकिने बताए । यसबाट निर्माण व्यवसायीहरु पनि सचेत भएर गुणस्तरीय काम गर्ने बताए । अन्य प्रयोगशालामा भन्दा सस्तो, भरपर्दो र सही प्रतिवेदन आउने गरी प्रयोगशाला सञ्चालन गरिने छ ।