
पाल्पामा खेलकुदको अधिक सम्भावना भएर पनि यससंग सम्बन्धित गतिविधि सुस्ताएको तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले तराईमा बढी गर्मी हुनेभएकोले पनि पाल्पामा खेलकुदका गतिविधि बढाउने हो भने स्थानीय, संघीय र प्रदेशस्तरका खेलकुदका कार्यक्रम सञ्चालनको सम्भावना प्रशस्त भएको बताए । यसका लागि जिल्लाका खेलसम्बद्ध संस्थाहरुको चासो नहु“दा खेलका गतिविधिहरु सम्भावना हनुसार हुन नसकेको गुनासो समेत गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाले विश्व खेलकुद पत्रकार दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागीले जिल्ला खेलकुद विकास समिति, खेलसंग सम्बन्धित संघसंस्थाहरुसंग बजेट अभाव भन्दै खेलकुद गतिविधि नगर्दा नै खेल सम्वन्द्ध खेलाडीहरु पलायन हुनुपरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानाले पछिल्लो समय जिल्ला फुटबल संघले सञ्चालन गरेको राष्ट्रियस्तरको प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रको गतिविधिलाई चलायमान बनाएको बताए । ‘आर्थिक अभावकै कारण पनि उत्कृष्ट प्रतियोगिता गर्न सकिन्छ भन्ने प्रमाणित गरेको पाइयो,’ उनले भने, ‘अन्य खेल सम्बद्ध संघसंस्थाले पनि बजेट अभाव भनेर बस्ने भन्दा पनि खेलकुद गतिविधि बढाउनुपर्छ ।’ यसका साथै अध्यक्ष रानाले खेलकुद गतिविधिबाट प्रत्यक्ष लाभ लिने क्षेत्र होटल व्यवसायी, उद्योगी, व्यापारीले खेलकुदको विकासका लागि सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।
पाल्पा जिल्ला फुटबल संघका पूर्व महासचिव भरत शर्माले जिल्लाको फुटबल, भलिबल जस्ता खेलले नेपालमै उत्कृष्ट स्थान हासिल गरेको इतिहास भए पनि पछिल्ला समयमा भौतिक पूर्वाधार तयार नभएकाले सुस्ताएको बताए । पाल्पामा खेलकुदको विकासका लागि एकेडेमी आवश्यकता रहेको बताउँदै जग्गा अभावमा फुटबलको एकाडेमी बन्न नसकेर अन्यत्र गएको स्मरण गरे ।
जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष करुणा काफ्लेले विगतमा खेलकुदको क्षेत्र धेरै अब्बल भएको बताउँदै पुरानो साख गुमेको बताए । ‘छिमेकका अन्य जिल्ला खेलकुदमा धेरै अगाडि बढदा पाल्पाले उल्लेख्य प्रगति गर्न सकेको छैन,’ उनले भने, ‘खेलका पूर्वाधारको अवस्था दयनीय बनेको छ । खेलकुदको अवस्था सुधारर्न तीन तहकै सरकारले विशेष लगानी गर्नुपर्छ ।’
पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले सम्भावना भएर पनि आर्थिक स्रोत जुटाउन नसक्दा खेलकुदको गतिविधि अघि नबढेको बताए । ‘मौसमको हिसाबले पाल्पा निकै राम्रो छ,’ उनले भने, ‘खेलकुदमा लगानी गर्नुपर्छ भन्ने भावना नै नभएकाले समस्या आएको हो ।’
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विक, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष मन गैरे, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश लेखा समिति संयोजक मुक्तिप्रसाद न्यौपाने, समाजवादी प्रेस संगठनका अध्यक्ष पदम गैरेलगायतले पाल्पामा खेलकुदको गतिविधि संचालनका लागि आफूहरु क्षेत्रगत रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले खेलकुलको विकासका लागि सबै खेलसंग सम्बन्धित संस्थाहरु एक ठाउँमा उभीएर समन्वय र सहकार्यमा काम गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । खेल गतिविधि बढाउने र पत्रकारलाई खेलकुद बिटमा समाचार लेख्न प्रेरित गर्नुपर्नेमा उनीहरले जोड दिए । कार्यक्रम मञ्चका सदस्य कृष्ण कार्कीको स्वागत, मञ्चका जिल्ला अध्यक्ष माधवप्रसाद अर्यालको अध्यक्षता र कोषाध्यक्ष कमल अधिकारीको संचालनमा भएको हो ।