
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको मुख्य एजेण्डा समृद्धि भएको बताएका छन् । उनले नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
मुख्यमन्त्री चौधरीले जवसम्म नागरिकको आर्थिक विकास हुँदैन तवसम्म समृद्धि सम्भव नभएकोले आगामी आर्थिक वर्षका लागि रोजगारी सिर्जना गर्ने योजनाका कार्यक्रम र बजेट व्यवस्था गरेको बताए । उनले मुख्यमन्त्री आर्थिक कार्यक्रम मार्फत कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा साझेदारीका काम गर्न एक करोड रकम राखिएको जानकारी गराए । उनले एक करोड संघीय सरकारसंग प्रस्ताव गरिएको र अर्को एक करोड साझेदारी गर्ने निकायबाट व्यवस्था गरेर काम गरिने बताए ।
मुख्यमन्त्री चौधरीले बजेट तयार भैसक्ने समयमा आफूहरुले जिम्मेवारी प्राप्त गरेकोले सबैमन्त्रालयको बजेट निर्माणमा आवश्यक ध्यान दिननसक्दा केही मन्त्रालयबाट गलत रुपमा व्यक्तिगत सञ्चारगृहलाई बजेट विनियोजन भएको पाइएकोले त्यो रकम तानिएको बताए । सञ्चार क्षेत्रको बजेट परिचालनका सवालमा विधि र पद्धती अनुसार संस्थागत रुपमा समन्वय गरेर मात्र अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सरकार जनताको सरकार भएकोले विकासको मागका लागि दैनिक उल्लेख्य जनताको उपस्थितिले प्रदेश संस्थागत भएको आफूले पाएको बताए ।
पत्रकारहरुको जिज्ञशाका विषयमा आफ्ना भनाइ राख्दै मुख्यमन्त्री चौधरीले विकास र सेवाका सवालमा प्रदेश सरकार बाहेस नभएको दावी समेत गरे । उनले पाल्पाको पर्यटन विकासका लागि आफू गम्भीर भएर छलफल गरेको बताए । उनले प्रदेशका विभिन्न जिल्लामा भएका सम्भावनाहरुलाई ध्यानमा राखेर ब्रांडिंग र मार्केर्टिङमा जोड दिएर काम गर्नुपर्ने समय रहेको बताए । अलपत्र अवस्थामा रहेको श्रीनगर साँस्कृतिक डवलीको प्रयोग र व्यवस्थापनका विषयमा स्थानीय सरकार तानसेन नगरपालिकाको जिम्मा लगाउने विषयमा अन्तिम छलफल भैरहेको जानकारी गराए ।
पत्रकार भेटघाट कार्यक्रम नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माको स्वागत अध्यक्ष रेखिराम रानाको अध्यक्षता तथा सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा चलेको हो ।








