
पाल्पा । पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार २०७८ वरिष्ठ पत्रकार तथा स्तम्भकार कमलप्रसाद कोइरालालाई प्रदान गरिएको छ । पत्रकारिताका क्षेत्रमा लामो जीवन समर्पण गरेका वामपन्थी राजनीतिको इतिहासका रूपमा रहेका कोइरालालाई एक लाख ११ हजार १ सय ११ नगदसहित पुरस्कृत गरिएकाे हाे ।
पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनबाट पुरस्कार वितरण गरेको हो । प्रमुख शेरचनले नेपाली कम्युनिष्ट आन्दोलनका विद्वत व्यक्तित्व कमल कोइराला जो सम्भ्रान्त परिवारका भएर पनि वामपन्थी अभियानमा लागेका अनुकरणीय व्यक्ति रहेको विचार व्यक्त गरे । उनले संविधानसभाको माग गर्ने व्यक्ति पुष्पलाल नै रहेको विचार समेत व्यक्त गरे । बलियो हुँदै गएको पञ्चायतलाई ढाल्न काँग्रेससँग मिलेर संघर्ष गर्नुपर्ने विचार पुष्पलालको रहेको उल्लेख गरे । प्रमुख शेरचनले कोइरालालाई प्रधानमन्त्रीको छोरा भएर पनि बाबुको निर्णयका विरुद्धमा आन्दोलनमा आउनु कतिसम्मको क्रन्तिकारिता हो भन्ने पुष्टि भएको बताए । यस्तो व्यक्तित्वलाई पार्टीले मूल्यांकन नगरेको कुरा बताउदै पार्टीले सम्मान गर्न ध्यान नदिएको काम प्रतिष्ठानले गरेकोमा खुसी व्यक्त गरे । पछिल्लो समय सिद्धान्तनिष्ठ धेरै कम्युनिष्ट नेताहरूको यस्तै अवस्था यस्तै अवस्थामा रहेको बताए । प्रमुख शेरचनले पुष्पलाल संस्थापक मात्र नभई नेपाल कम्युनिस्ट पार्टीको प्रस्तावक समेत रहेको स्मरण गराए । पुष्पलाल दूरदर्शी नेता रहेको विचारका राख्दै नेपालका कम्युनिस्टहरूको जुट्ने र फुट्ने निरन्तर सिलसिला रहेको नियतिलाई उल्लेख गर्दै सबैलाई एकीकृत गर्नका लागि नेतृत्व स्वार्थभन्दा माथि उठ्नु पर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले मूर्धन्य व्यक्तिहरूलाई सम्मान गरिएकोमा धन्यवाद व्यक्त गरे । पुष्पलालको योगदानले नै आजको स्वतन्त्रता आएको कुरा उनले बताए । पुरस्कारका लागि सही र अनुकरणीय पात्र चयन गरेकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्दै कमल कोइरालाको विद्रोही चरित्रलाई हेरेर पनि मानिस कम्युनिष्ट अभियानमा लागेको यथार्थलाई प्रष्ट पारे । पुरस्कृत व्यक्तित्व कोइरालाले स्मृति प्रतिष्ठानबाट पुरस्कृत हुने अवसर पाएकोमा आफू भाग्यमानी रहेको विचार व्यक्त गरे । पुष्पलालसँगका अर्तरङ्ग पाटाहरूलाई पनि स्मरण गरे । २०१७ सालको पुस १ गतेको घटनादेखि पुष्पलालसँगै काम गरेको सन्दर्भ बताए । सही कुराका निम्ति पार्टीलाई कार्यकर्ताले खबरदारी गर्नुपर्ने धारणा समेत राखे ।
पुष्पलाल स्मृति प्रतिष्ठानका संरक्षक तथा तानसेन नगरपालिकाका पूर्व नगर प्रमुख अशोककुमार शाहीले पुष्पलाल र वीपी स्मृति प्रतिष्ठानको स्थापना गर्नुको यथार्थलाई प्रकाश पारे । जसले साँचो अर्थमा देशको विकास र समृद्धिका लागि योगदान गरेका व्यक्तिहरू सबैका साझा रहेकोले दुवै व्यक्तिका नाममा प्रतिष्ठान स्थापना गरिएको सन्दर्भ उल्लेख गरे ।
तानसेन नगरपालिकाकी कार्यवाहक नगर प्रमुख प्रतीक्षा सिँजालीले वीपी र पुष्पलाल जुनसुकै शब्दले सम्मान गरे पनि माथिल्लो स्थानमा रहेको विचार व्यक्त गरिन । इतिहास निर्माण गरेका कमल कोइरालाको योगदान सुन्न पाउँदा आफू निकै प्रभावित भएको विचार व्यक्त गर्दै सम्मानित पुरस्कृत कोइरालालाई बधाई ज्ञापन गरिन् ।
पुरस्कृत व्यक्तित्व कोइरालाको परिचय वरिष्ठ पत्रकार किशोर श्रेष्ठले गरेका थिए । उनले कोइराला परिवारको एक मात्र कम्युनिस्ट व्यक्ति कमल कोइराला रहेको बताए । दृष्टि साप्ताहिकमा कमल कोइरालालाई प्रधान सम्पादक बनाउन आफूहरूले भूमिका खेलेको कुरा स्मरण गर्दै वरिष्ठ पत्रकार श्रेष्ठले आदर्श व्यवहार घमण्ड र दम्भ कत्ति नभएका सादगी व्यक्तित्व कोइराला रहेको पुष्टि स्वरूप केही दृष्टान्तसमेत प्रस्तुत गरे ।
पुष्पलालको व्यक्तित्वमाथि प्रकाश पार्ने काम प्रतिष्ठानका सचिव गणेश ज्ञवालीले गरे । उनले वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका शिखर पुरुषका रूपमा पुष्पलाल रहेको चर्चा गरे । कार्यक्रममा वीपी स्मृति प्रतिष्ठानका अध्यक्ष टंकप्रसाद पन्थ र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले पुराना पुस्ताको योगदानलाई कदर गरेर पुरस्कृत गरेकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गरे । उनीहरुले पुरस्कृत कोइरालालाई बधाई सहित दीर्ध जीवनको कामना समेत व्यक्त गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराईले एउटा सतपात्रको हातबाट अर्को सत्पात्रलाई सम्मानित गर्न पाएकोमा प्रतिष्ठानले गौरवको अनुभूति गरेको विचार व्यक्त गरे ।