
पाल्पा । माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड २२ लाख ३ हजार ३ सय २४ रुपैंयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँ सभाको १३ औं अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएपछि गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङचेले बजेट योजना र कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनले गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न बजेट विनियोजन गरिएको जनाइन् ।
अधिवेशनको पहिलो बैठकमा व्यवसाय दर्ता ऐन र विपत जोखिम न्यूनीकरण ऐन पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव दिनेश ज्ञवालीले जानकारी दिए । ज्ञवालीले गाउँपालिकाले वित्तिय अवस्था, अहिलेको केन्द्रीय नीति बजेट स्रोतको आधारमा समेत खर्च कटौती गर्दै मितव्ययी भएर बजेट ल्याएको बताए । गाउँसभामा चालु तर्फ ५८ प्रतिशत र पूँजिगत तर्फ ४२ प्रतिशत रकम विनियोजन भएको हो । आगामी वर्षको नीति तथा पर्यटन विकासदेखि १५ शैयाको अस्पताल निर्माण गर्ने विशेष नीति लिइएको छ । पर्यटनतर्फ कौडेलेक, माथागढी, बहादुरपुर, लखनथापा पार्क, माथागढीमा दैनिक हेरालु राख्ने र समग्र माथागढीको पर्यटकीय विकास गर्ने नीति लिइएको अध्यक्ष चिदीले बताइन् । त्यस्तै स्वाथ्यतर्फ नयाँ स्वास्थ्य संस्थाको जग्गा व्यवस्थापन, विपन्न महिलालाई एम्बुलेन्स खर्च दिने, हात्तिलुंगलाई स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने उल्लेख गरिएको छ ।
कृषितर्फ व्यवसायिक कृषि प्रवद्र्धन, हाट बजार संचालन, माटो परीक्षण शिविर संचालन, अदुवा बेसारको प्रर्वद्धन कार्यक्रम, पशु बीमा लगायत कार्यक्रम सञ्चालन गरिने योजना छ । शिक्षामा गाउँ शिक्षा सुधार योजना, अभिभावक विहिन बालबालिकाको अभिभावकत्व वहन, विद्यालय समायोजन, दरबन्दी मिलान, शिक्षकलाई ल्यापटप खरिदमा अनुदानको कार्यक्रम रहेको छ । खानेपानी तथा सरसफाईतर्फ प्लाष्टिक प्लेटलाई पातबाट विस्थापन, सबै वडामा फोहोर व्यवस्थापन केन्द्रको सम्भाव्यता अध्ययन गरिने भएको छ । मजदुर विमा, एक वडा एक खेल मैदान, आमा समूह र बाल क्लबहरुको सूचिकृत गर्ने नीति आगामी वर्षको रहेको छ ।
उर्जातर्फ काठको पोल विस्थापन गर्ने, यातायात संचालनमा अनुदान दिने, सूचना संचारमा गाउँपालिकाको वृत्तचित्र निर्माण, प्रशासकीय भवन निर्माण गर्ने योजना रहेको छ । यसका साथै सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न घुम्ति र एकीकृत सेवा प्रवाह गर्ने, वातावरण र विपद् व्यवस्थापनमा खानीहरुको अभिलेखीकरण गर्ने र सुचिकृत गरी धर्मकाँटाको प्रयोगबाट मात्रै तौल लिने व्यवस्था मिलाइने उल्लेख छ । अधिवेशनको दोस्रो बैठक असार २६ गते बस्ने गरी स्थगित भएको गाउँपालिकाले जनाएको छ ।