तानसेनको बजेट एक अर्ब २ करोड ८ लाख

पाल्पा । तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि एक अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ६७ रुपैयाँको बजेट योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । तानसेनको भूगोल, जनजीवन, विविधतायुक्त संस्कृतिसंग जोडिएका आर्थिक तथा सामाजिक पक्षलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।

नगरसभामाको १३ औँ अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले आगामी आर्थिक वर्षका लागि तयार भएको बजेट तथा कार्यक्रम पेश गरेकी हुन् । उनले चालु तर्फ ५६ करोड १४ लाख २५ हजार अर्थात कुल बजेटको ५४ दशमलव ६१ प्रतिशत चालु खर्च र पूँजिगत तर्फ ४६ करोड ६६ लाख ३९ हजार ३ सय ६७ अर्थात ४५ दशमलव ३९ प्रतिशतमा बजेट बाँडफाँड गरिएको जानकारी गराइन् । यो बजेट नगरपालिकाले गत वर्षको तुलनामा २७ प्रतिशतले कम हो । गत आ.व.मा नगरपालिकाले एक अर्ब ४० करोडको बजेट ल्याएको थियो ।

सभामा प्रस्तुत बजेटको क्षेत्रगत रुपमा सामाजिक क्षेत्रमा ४४ करोड २४ लाख २१ हजार अर्थात ४३ प्रतिशत, पूर्वाधार क्षेत्रमा २७ करोड ८१ लाख १८ हजार २ सय ६३ अर्थात २७ प्रतिशत, सुशासन तथा संस्थागत विकास क्षेत्रमा १५ करोड ५१ लाख ९९ हजार २ सय ५१ अर्थात १५ प्रतिशत, आर्थिक विकासका क्षेत्रमा ११ करोड ४ लाख १४ हजार ९ सय २७ अर्थात ११ प्रतिशत, वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ४ करोड १९ लाख १० हजार ९ सय २६ अर्थात ४ प्रतिशत वर्गीकरण गरिएको नगर उपप्रमुख सिंजालीले बताइन् ।

आगामी वर्षका लागि संघ, प्रदेशबाट आउने अनुदान रकम कम भएकाले बजेटको आकार घटेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सात करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा लक्ष्य पूरा हुनेभएकोले नगर उपप्रमुख सिंजालीले आगामी वर्षका लागि ९ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएको बताइन् ।

अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख सिंजालीले विनियोजन विधेयक २०८०, आर्थिक विकास समितिका संयोजक हेमन्तराज शाक्यले आर्थिक विधेयक, बाबुरत्न शाक्यले साझेदारी कार्यक्रम सञ्चालन गर्न बनेको विधेयक,पूर्वाधार विकास समितिका संयोजक सुनिल कुमार बस्यालले फोहोरमैला व्यवस्थापन गर्न बनेको विधेयक पेश गरे । यसका साथै उपप्रमुख सिंजालीले न्यायीक समितिको प्रतिवेदन र लेखा समिति संयोजक राजेशकुमार अर्यालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत भएको विधेयक र प्रतिवेदन सुझाव सहित सर्वसम्मत रुपमा पारित गरेको छ ।

बैठकमा सभाका सदस्य माधवप्रसाद बस्यालले नीति तथा कार्यक्रममा माण्डव्य सरोवरको विषय उठान भएपनि बजेट नभएकोमा ध्यान आकर्षण गराए । यस्तै अर्का सभा सदस्य मञ्जु रणपालले रानीघाट र रिडी क्षेत्रको घाट व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् ।

सभाका सदस्य विमला बौडेल, हरिबहादुर थापा, केदार पाण्डे, गीता आचार्य धनकुमारी विष्ट, कमल दर्लामी, रेखा विष्ट, राधिका थापा लगायतले बजेट समय अनुसार राम्रो बनेको बताउँदै कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । विषयगत रुपमा आÇना राय राख्न समय लिएर बोलेको सभाका सदस्यहरुले विषय केन्द्र्रीत सवालमा भन्दा भिन्न विषयमा प्राथमिकता दिएर भनाइ राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय