
दयाराज न्यौपाने
समृद्धिका लागि वन परियोजना अन्तरगत बगनासकाली गाउँपालिकाका वन क्षेत्रका सरोकारवालाहरुको वार्षिक भेला बसेको छ ।
भेलाको सहजीकरण गर्दै वन प्राविधिक सागर बस्यालले बगनासकाली गाउँपालिका भित्र वनको दिगो व्यवस्थापन, वन मार्फत आयआर्जन वृद्धि गर्ने साथै जलवायु परिवर्तनका असरहरु न्यूनीकरण गर्ने लक्ष्य रहेको जानकारी गराए । उनले वन ऐन २०७६ मा उल्लेख भएका नीतिगत व्यवस्था, कसुरका दण्ड र सजाय बारेमा समेत जानकारी दिए । वन प्राविधिक बस्यालले गाउँपालिका भित्र ३५ वटा समुदायिक वन दर्ता भएपनि २ वटाको मात्रै नवीकरण भएको जानकारी दिए ।
डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत उपेन्द्र अर्यालले सहभागीले राखेका जिज्ञासा र गुनासा माथि प्रकाश पार्दै गाउँपालिकामा यस आर्थिक वर्षमा दस हजार तेजपातका बिरुवाहरु निवेदनका आधारमा उपलब्ध गराउने जानकारी दिए । कार्ययोजना नवीकरण गर्न बाँकी सामुदायिक वनहरुले झाडी सफाई जस्ता कार्य भेलाको निर्णयबाट गर्न सक्ने बताउदै उनले नियम र कानुनलाई आत्मसात गर्दै काम गर्ने आग्रह गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले सामुदायिक वनको माध्यमबाट गाउँपालिका भित्रका उपभोक्तहरुको आयस्रोत बढाउन सकिने बताए । वनमा देखा परेका समस्याको दिगो समाधान गर्ने गरी नीति तथा कार्यक्रममा समाबेश गरेर अगाडि बढ्न् पर्ने बताए ।
भेलामा कार्ययोजनाको अवस्था, काठकाट्न र व्यवस्थापका विषयमा सहभागीहरुले सरोकारवाला संस्थाहरूले चासो नदिएको कारण घरमा भएका रुख समेत काठको रुपमा प्रयोग गर्ने नपाएको गुनासो गरे । उनीहरुले वन कार्यालय र गाउँपालिकाले सहजै प्रयोग आफुनो जग्गाको काठ आफ्नै लागि प्रयोग गर्न पाउने वातावरण निर्माण गरिदिन आग्रह समेत गरे । सहभागीहरुले अहिलेको नियमले गर्दा उपभोक्तले बाहिर जिल्लाको काठमा ठूलो मूल्य खर्च गर्न बाध्य भएको बताए ।
भेलामा जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, प्रहरी, संचारकर्मी, फर्निचर संचालक लगायतको सहभागी रहेको थियो । कार्यक्रम वडा नं १ का वडा अध्यक्ष शेरवहादुर चिदीको स्वागत तथा समृद्धिका लागि वन परियोजनाका फोकल पर्सन नारायण तिमिल्सिनाको संचालनमा चलेको हो ।