
पाल्पा । तानसेन नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगर सभाको १३ औं अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तयार गरेको नीति तथा कार्यक्रम उपप्रमुख प्रतिक्षा सिंजालीले प्रस्तुत गरेकी हुन । सो नीति तथा कार्यक्रम सभाका सदस्यहरुको सुझाव समेटने गरी पारित भएको हो ।
प्रस्तुत नीति तथा कार्यक्रममा अथाह सम्पदाले समृद्ध र सम्भावना रहेको हाम्रो नगर, राम्रो नगरको परिकल्पनालाई उच्च प्राथमिकता दिइएको उल्लेख छ ।
कुल १ सय ८२ बुँदामा समेटिएको नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास, आर्थिक विकास अन्तरगत राजस्व वृद्धि,संस्कति संरक्षण तथा पर्यटन विकास,कृषि विकास तथा पशु विकास,सहकारी नियमन र प्रवद्र्धन, युवा रोजगार तथा स्वरोजगार,उद्योग शिर्षकमा विभिन्न क्रियाकलाप गरिने छ । यसका साथै सामाजिक विकास अन्तरगत सामाजिक समावेशीकरण,स्वास्थ्य,शिक्षा,युवा तथा खेलकुद ,सूचना प्रविधि,पूर्वाधार विकास,खानेपानी सरसफाई वातावरण र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने गरी योजना अगाडि बढाइने उल्लेख छ ।
केही पुराना योजनाहरुलाई निरन्तरता दिनेगरी आएको नीति तथा कार्यक्रममा खासै नयाँ पन भने छैन् । विगतका वर्षमा सुरु गरिएका छोरी शिक्षा कार्यक्रम, विद्युत महशुलमा अनुदान जस्ता राम्रा कार्यक्रमले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाएका छन् । यस्तै राजस्व वृद्धिका लागि विकासको लागि राजस्व प्रवद्र्धन नारा सहित राजस्वको दायरा र क्षेत्र विस्तार गरिने छ । नगरपालिकालको आफ्नै गान र लोगो निर्माण गरिने छ । यस्तै कृषि उत्पादनमा प्रोत्सहानका लागि वितरणमूखी भन्दा उत्पादनमूखी अनुदानलाई प्राथमिकताका साथ कायान्वयन गरिने छ । ग वर्गको अपांगता परिचय प्राप्त भएका व्यक्ति र एचआइभी संक्रमितलाई मासिक ५ सय भत्ता उपलब्ध गराइने भएको छ । यसका साथै ५० वर्ष नाघेका अविवाहित र एकल जीवन विताएका कुनै सरकारी सेवा सुविधा नपाएकाहरुलाइ पनि मासिक ५ सय भत्ता दिइने नीति तथा कार्यक्रममा जनाइएको छ । शैक्षिक संस्थाको पूर्वाधार विकास तथा शैक्षिक वातावरण कायम गर्न वीग स्कुलको अबधारणा अगाडि बढाउने साथै विद्यार्थीको दिवा खाजाका लागि ५ रुपैयाँ थप गरिने छ ।
बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम माथी सभाका सदस्यहरुले तानसेनको विकासका लागि आवश्यक सुझाव राखेका थिए । सभा सदस्य गीता भटराईले तानसेनको खानेपानी समस्याको दीर्धकालीन समाधानका विषयमा गम्भीर हुनुपर्ने बताइन् । अर्का सभाका सदस्य माधव बस्यालले सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने नीति ल्याउनुपर्ने बताए । सभाका सदस्य अमरबहादुर रानाले सीमित क्षेत्रको संस्कृति सरक्षणमा भन्दा सबै वडाको संस्कृति सरक्षणको काम हुनुपर्ने बताए । सभामा अर्का सदस्य गोमा गैरेले वडा सदस्यको भूमिका शून्य भएको बताइन् । उनले काम र जिम्मेवारी प्राप्त भएको खण्डमा काम गर्न सकिने बताइन् । सभाका सदस्यहरु रेखा विष्ट,हरिबहादुर थापा,विमला बौडेल,कमल दर्लामी,राधिका थापा,कर्णबहादुर रेश्मी लगायतले बसपार्क व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, चिस्यान केन्द्र स्थापना, एक वडा एक किलोमिटर कालोपत्रे सडक योजना, स्वास्थ्य ,शिक्षा,कृषि क्षेत्रको व्यवस्थापनका विषयमा सुझाव राखेका थिए । अधिबेसनको दोस्रो बैठक आइतबार दिउसो १ बजे बस्नेछ । उक्त बैठकमा तानसेन नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत हुने सभाका सदस्य सचिव जीवन ज्ञवालीले जानकारी दिए ।