पाल्पा । ह्यूमन पपिलोमा भाइरस डिएनए जाँचमार्फत पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग सम्बन्धी अभिमुखीकरण तानसेनमा सुरु भएको छ । भिआइए परीक्षण मार्फत मात्र गरिर्दै आएको पाठेघरको मुखको क्यान्सरको परीक्षण अव एचपिभी डिएनए जाँच गरेर गर्न सकिने सेवा सुरु गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा जिल्लाका दश स्थानीय तहका स्वास्थ्य शाखा संयोजक सहति अन्य स्वास्थ्यकर्मीको सहभागितामा अभिमुखीकरण चलेको हो । चालु आर्थिक वर्षमा नेपालका ७ जिल्ला मध्य र लुम्बनी प्रदेशको पाल्पामा मात्र सुरु गरिने सेवाको बारेमा जानकारी दिन २ दिने अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न परामर्श, सचेतना र उपचारबाट सम्भव भएको समेत बताए । प्रमुख गिरीले पाल्पामा यस वर्षमात्र ४ हजार ५ सय ३० जना महिलाहरुमा परीक्षण गरिएको समेत जानकारी दिए । अन्य जिल्लाका तुलनामा पाल्पामा यसको सेवा प्रभावकारी रुपमा सञ्चालन गरिएको बताए ।
प्रमुख डा गिरीले यौन सम्पर्कबाट हुने संक्रमण भएकोले प्रत्येक विवाहित महिला वा यौन सम्पर्कमा भएका महिलाहरुले परीक्षण गर्न आवश्यक रहेको बताए । उनले यसका साथै छिटो र कलिलो उमेरमै यौन सम्पर्कमा आउने महिलाहरु,एकभन्दा बढीसंग यौन सम्पर्क गर्ने महिलाहरु,रोग संग लड्ने क्षमता कम भएको महिलाहरु, धेरै पटक गर्भधारण गरेका महिलाहरु, धुम्रपान गर्ने तथा अन्य यौनरोग भएको महिलाहरुमा र लामो समय सम्म मिश्रित गर्वनिरोधक चक्कीको प्रयोग गर्ने महिलाहरुमा बढी जोखिम हुने उनको भनाइ छ ।
पाठेघरको मुखमा असामान्य कोशिकाहरुको वृद्धि हुनु भनेको पाठेघरको मुखको क्यान्सर हुनु भएको विश्व स्वास्थ्य संगठनकी डा. समिना वैद्य राजभण्डारीले बताइन् । उनले यसको रोकथामका लागि ९ देखि १४ वर्ष सम्मका किशोरीहरुमा खोप लगाउने, जनचेतनाका साथै स्वास्थ्य शिक्षा उपलब्ध गराउनुपर्ने बताइन् । डा वैद्य राजभण्डारीले यसका साथै स्क्रीनिंङ्ग, क्यान्सर गराउने पूर्वावस्थाको उपचार तथा निदानका लागि उपचार गर्न सकिने बताइन् । नेपाल सरकारले यो संक्रमण परीक्षणको सेवा निशुल्क रुपमा उपलब्ध गराउदै आएको जानकारी दिदै उपचारको विधि र महत्व बारे जानकारी गराइन् । ३० वर्ष देखि ४९ वर्षका महिलाहरुमा यसको परीक्षण गरिन्छ । स्वस्थ महिलाहरुले ५ वर्षको अन्तरालमा र एचआईभी संक्रमित महिलाले ३ वर्षमा पुन परीक्षण गर्नुपर्ने डा.वैद्यराजभण्डारीको भनाइ छ ।
सुरुको चरणमा लक्षण बिना संक्रमण हुनसक्ने भएकोले महिलाहरुले बेला बेलामा पाठेघरको परीक्षण गराउन आवश्यक रहेको सूचना अधिकारी टिकाराम अधिकारीले बताए । उनले विशेषगरी यौन सम्पर्क पछि योनीबाट रगत बग्ने, कुनै पनि समयमा महिनावारी र रक्तश्राव हुने, योनीबाट गनाउने पानी बग्ने, योनीद्वारमा असामान्य खालको दुखाई हुने, पिसाब फेर्दा वा दिसा गर्दा दुखाइ बढ्नेजस्ता लक्षण देखा पर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पाठेघरको मुखको क्यान्सरबाट हुनसक्ने सम्भाव्य जोखिम न्यूनीकरणमा अभिमुखीकरण कार्यक्रमले सहयोग गर्ने बताए । उनले ज्ञान र चेतनाको अभावमा महिलाहरुको स्वास्थ्य सम्बन्धी धेरैखाले समस्या भोग्नुपर्ने अवस्था भएकोले समयमै स्वास्थ्य शिक्षा र जनचेतना दिनसके यस्तो क्यान्सरसहित अन्य स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वास व्यक्त गरे । अभिमुखीकरण आइतबारसम्म चल्ने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।