तानसेनको पत्रकार संग सुझाव संकलन

पाल्पा । तानसेन नगरपालिकाले नीति तथा कार्यक्रममा समाबेस गर्नुपर्ने विषयमा पत्रकारहरुसंग सुझाव संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेटनु पर्ने विषयवस्तुका विषयमा सुझाव संकलन गरिएको हो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले तानसेनको समय अनुसारको विकासका लागि सम्भावना भएपनि काम हुन नसकेको बताए । उनीहरुले तानसेनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने भनिएपनि काम नभएकोले पर्यटन पूर्वाधार विकासमा ध्यान दिन आग्रह गरे । औपचारिकताका लागि सुझाव संकलन गर्ने तर काम पुरानै शैलीबाट गर्ने प्रचलन रहेकोले साच्चिकै काम गर्ने हो भने श्रीनगर पार्क व्यवस्थापन, रानीमहल र रुरु क्षेत्र धामलाई व्यवस्थित गर्नुपर्ने कान्तिपुर दैनिकका उपसम्पादक माधवप्रसाद अर्यालले सुझाव दिए । उनले मन्दिरहरुमा दर्शनार्थीहरुले नियमित दर्शन गर्न पाउने व्यवस्था र संकलन भएको भेटी व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए ।

यसका साथै पत्रकार किरण कौशलले पाल्पाली ढाका, करुवाको प्रवद्र्धनका विषयमा पटक पटक कुरा उठेपनि स्थानीय व्यवसायीहरुको भूमिका शून्य भएको बताए । उनले व्यवसायीहरुले व्यापार मात्र गर्ने तर नगरको विकासमा कुनै चासो नदेखाउने गरेकोले सहयोग र सहकर्याको वातावरण तयार गर्न ठोस योजना ल्याउन आग्रह गरे । यस्तैगरी पत्रकार नवराज ज्ञवालीले वन्यजन्तुबाट कृषकहरुले सास्ती खेप्नुपरेकोले यस विषयमा स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए । पर्यटकीय क्षेत्र तानसेन भन्ने सडकमा वत्ती नवोल्ने, खाल्डाखुल्डी सडक र १० नबज्दै बजार सुनसान हुँदा पर्यटकलाई समस्या भएकोले रात्रीकालीन सेवाका विषयमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले होटल तथा पर्यटन व्यवसायीहरुको परिचालन, कृषि उपजको बजारीकरणको व्यवस्थापन, मापदण्ड अनुसार सडक सुधार, घरवाहल कर निर्धारण, पुराना योजना सम्पन्न गर्नेगरी बजेटको व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, चालु खर्च कटौती, बसपार्क निर्माण तथा दरबार परिसरको व्यवस्थापनलगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । पत्रकारहरुले नगरपालिका पत्रकार खोज्ने काममा मिडियामैत्री भएपनि संस्थागत विकासमा कमजोर देखिएकोले यस तर्फ ध्यान दिन समेत पत्रकारहरुले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले तुलनात्मक रुपमा पछिल्लो समय तानसेन नगरपालिकाले राम्रो काम गरेको बताए । उनले देखिएका मध्यको दीर्धकालिन महत्व राख्ने दरबार परिसरको घरटहरा भत्काउने काम, विद्यालय मर्ज र कक्षा कटौटी, राजस्व वृद्धि र सहकारी अभियान प्रभावकारी र हिम्मतका साथ गरेकोमा खुसी व्यक्त गरे । अध्यक्ष रानाले तानसेनमा सम्भावना अधिक भएकोले गर्नुपर्ने अझधेरै काम रहेकोले योजनावद्ध रुपमा अगाडि बढ्न आग्रह गरे । उनलेनगर क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन, सार्वजनिक महत्वका संरचनाहरुको प्रयोग,फोहरमैला व्यवस्थापन,खानेपानीको सहज उपलब्धताका विषयमा देखिनेगरी काम गर्नुपर्ने सुझाए ।

कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले गएको एक वर्षमा नगरको विकासका लागि भएका काममा पाल्पाली पत्रकारहरुको सकारात्मक सहयोग भएकोमा खुसी व्यक्त गरे । उनले सबैको सुझाव अनुसार नगरको विकासमा आफूले काम गर्ने बताए । यसका साथै नगरप्रमुख श्रेष्ठले आगामी तीन महिना भित्र तानसेनको शिक्षा,स्वास्थ्य,पर्यटन,खानेपानी, फोहरमैला व्यवस्थापनलगायतका विषयहरुको ठोस योजना सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी समेत दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय