पाल्पा । समाजमा गर्भपतन सम्बन्धी रहेको मूल्य मान्यताका विषयमा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ पाल्पाको आयोजना तथा स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा आम युवायुवती तथा किशोर किशोरीलाई शिक्षा आवश्यक रहेको बताए । उनले प्रजनन् अधिकारबारे जानकारी नहुँदा कतिपय मानिसहरूले अहिले पनि असुरक्षित गर्भपतन गर्ने गरेको र त्यसले स्वास्थ्य तथा समाजमा नकारात्मक प्रभाव फैलाइएको बताए ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा खुल्ला धारणा आवश्यक रहेको बताए । उनले संविधानले उपलब्ध गराएको अधिकार प्रयोगका विषयमा समेत गलत दृष्टिकोणले हेर्ने गरेकोले लुकीछिपी गर्भपतन गराउने भएकाेले पनि समस्या जटिल बन्दै गएको बताए ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले अभिमुखीकरण कार्यक्रमले गर्भपतनका विषयमा आफ्नो धारणा परिर्वतन गर्न सहयोग मिलेको बताए । उनले विषयलाई जटिल बनाउने भन्दा सरल रुपमा समाधान तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुरक्षित गर्भपतन सम्बन्धी मूल्य मान्यता र व्यवहार रुपान्तरणका विषयमा स्वास्थ्य कार्यलय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकार्री गराए । यसका साथै संघका शाखा प्रवन्धक सोबाकान्त न्यौपानेले सुरक्षित गर्भपतन सेवा र कानूनी व्यवस्थाका विषयमा सहजीकरण गरे । उनले प्रजनन् स्वास्थ्य अधिकार, विश्वव्यापी मान्यता, नेपाली समाजको मान्यता, कानूनी अधिकार तथा समाजमा भएका अभ्यास तथा मान्यताको बारेमा जानकारी दिए । कार्यक्रममा सहभागी सरोकारवाला बीच अभ्यास गराएर विषयवस्तु प्रतिको धारण लिइएको थियो ।