
पाल्प । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा ३१ गते बुधबार जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको जनाएको छ ।
प्रतियोगिता बारे पत्रकार सम्मेलन गरी सोसाइटीले रक्तदान जीवनदानमा युवाको भूमिका विषयक वक्तृत्वकला गर्न लागेको जनाएको हो । प्रतियोगितालाई पाल्पाली संगम अमेरिका र व्लड डोनर्स अफ अमेरिकाले सघाएको सोसाइटीका सभापति बाबुराम कार्कीले जानकारी दिए । कार्यक्रम विश्व रक्तदाता दिवसको अवसरमा गर्न लागिएको हो । वक्तृत्वकला प्रतियोगितामा पाल्पाका ८ गाउँपालिकाबाट २/२ जना र दुई नगरपालिकाबाट ३/३ जना गरी १० वटै स्थानीय तहका २२ जना प्रतिस्पर्धीको सहभागिता हुने छ । विद्यालयस्तरमा प्रतिस्पर्धा गरेर सफल भएका विद्यार्थीहरु प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार प्राप्त गर्ने मन्त्री केशवराज नेपालले बताए । रक्तदान सम्वन्धी जनचेतना अभिवृद्धि गर्न प्रतियोगिताले सहयोग गर्ने उपसभापति भिमसेन कार्कीले बताए । उनले पाल्पामा सचेतनाको कमीले रक्तदाता पाउन निकै समस्या रहेकोले विद्यार्थी तहबाटै सचेतनाको अभियान सुरु गर्दा प्रभावकारी बन्ने भएकोले प्रतियोगिता आयोजना गरिएको बताए ।
अधिक रक्तश्रावका बिरामी, प्रसुति, मुटु, मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन साथै थालासेमिया, ल्युकेमिया लयायतको रक्तक्यान्सर, हेमोफिलियाको रक्तक्यान्सर र रक्त अल्पता जस्ता थुप्रै रोगहरुबाट समस्यामा परेकालाई रगतको आवश्यकता पर्ने तर सहजरुपमा प्राप्त गर्न नसकिएको अवस्थालाई मध्यनजर गर्दै रेडक्रसको पछिल्लो नेतृत्व सक्रियताका साथ सचेतना सहित रक्तदाताहरुको समूह वर्गीकरण गरी सूचिकरण ( रोष्टर ) तयार गर्ने अभियानमा लागेको छ । पाल्पामा वार्षिक रुपमा ३ हजार ६ सय पिन्ट रगत आवश्यकता पर्ने तथ्याँक सोसाइटीले जनाएको छ ।