पाल्पाका ७२ चालक र सहचालकको स्वास्थ्य परीक्षण
पाल्पा । जिल्लाका ७२ जना सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षण र ४१ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा र श्रीनगर यातायात सेवा कम्पनी प्रालिको आयोजनामा भएको सवारी दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकको स्वास्थ्य परीक्षण तथा सवारी साधनको यान्त्रिक परीक्षण कार्यक्रममा सहभागीले स्वास्थ्य र यान्त्रिक परीक्षण गराएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दामोदर मल्लले सवारी दुर्घटना हुनुमा सवारी साधन  चालक र सहचालकको स्वास्थ्य अवस्था र सवारी साधनको यान्त्रिक अवस्था मुख्य भएकोले सो विषयमा सचेत गराउन कार्यक्रम आयोजना गरिएको बताए ।
लायन्स लाकौल आँखा अस्पताल तानसेनका अप्थाल्मिक टेक्निसियन मिनबहादुर कार्कीले ७२ जनाले आँखा परीक्षण गरिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका मध्य ९ जनालाई थप परीक्षण र उपचारका लागि अस्पतालमा वोलाइएको जानकारी दिए ।
यस्तै कार्यक्रममा ४१ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्यालले यान्त्रिक परीक्षण गरेका हुन् । जसमा १६ वटा गाडीमा कैफियत देखिएको छ । उनीहरुलाई त्रुटी सच्चाएर कार्यालयमा सम्पर्क गर्न भनिएको श्रीनगर यातायात सेवा कम्पनी प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतमले जानकारी दिए ।
कार्यक्रममको उद्घाटन सत्रमा तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनले मानविय जीवनमा स्वास्थ्य आफैमा महत्वपूर्ण कुरा भएको बताए । उनले अझ अरुको समेत जीवनलाई सवारी साधनमा यात्रा गराउने चालक र सहचालकको स्वास्थ्य बारे तालिका तयार गरेर नियमित परीक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिए । वडाध्यक्ष महर्जनले यान्त्रिकीकरणमा हुने सानो समस्याले ठूलो क्षती हुने बताउदै सवारी साधनको नियमित परीक्षण गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टले पाल्पा प्रहरी ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका विषयमा गम्भीर भएर काम गरेको बताए । उनले प्रहरी एक्लैले यस क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताउदै सबैको सहयोग, समन्वय र सहकार्यमा काम गर्दा सफल भइने बताए ।
पाल्पा अस्पताल, लायन्स लाकौंल आँखा अस्पताल, नेपाल रेडक्रस सोसाईटी र यातायात व्यवस्था सेवा कार्यालय पाल्पाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री केशवराज नेपाल, पाल्पा उद्योग वाषिज्य संघका महासचिव समिरमान सिंह,पाल्पा व्यापार संघका अध्यक्ष वामदेव वस्याललगायतले चालक, सहचालक र सवारी साधनको अवस्थाले दुर्घटना न्यूनीकरणका महत्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरुले यस्तो कार्यक्रम समय समय आयोजना गर्नुका साथै सचेतनाका कार्यक्रम गर्नुपर्नेमा जोड दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय