कृषि, सडक पूर्वाधार र खानेपानीमा तिनाउको महत्वपूर्ण काम

पाल्पा (करुवा)। तिनाउ गाउँपालिकाले आफ्ना कृषकहरुले उत्पादन गरेको कृषि उपजको विक्रीको लागि बजारको ग्यारेण्टी गरेको जनाएको छ । जसका लागि बुटवल उपमहानगरपालिकासंगको सहयोग र सहकार्यमा बुटवलको हाटबजारमा दुई सटर कृषकहरुका लागि व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । सटरमा आवश्यक फर्निचर सहितका सामग्री व्यवस्थापनमा समेत गाउँपालिकाले सहयोग गरेको छ । विचौलीयाका कारण कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाउँदा मर्कामा परेकोले कृषक समूह बनाएर कृषि तथा पशुपंक्षीजन्य उत्पादनलाई विक्री केन्द्र मार्फत सिधै विक्री वितरण गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । उनले यसबाट विचौलियाको अन्त्य हुनुका साथै कृषकलाई फाईदा पुगेको बताए । समूहले एकीकृत रुपमा कृषि उत्पादन संकलन गरेर हाटबजारको विक्री केन्द्रबाट विक्री गर्ने गरेका छन् । यसले उत्पादनको बजारीकरणमा समेत सहयोग मिलेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको भनाइ छ ।

यस्तै गरी गत आर्थिक वर्षमै गाउँपालिका भित्रका सबै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण भएकोमा यस चालु आर्थिक वर्षमा बाह्रै महिना नागरिकका लागि सहज रुपमा यातायताको पहुँच सुनिश्चित गर्ने गरी काम गरिएको गाउँपालिकाले जनाएको छ । जसका लागि सडकहरुको स्तरोन्नति र ग्राभेलको काम भएका छन् । अधिकांश वडामा काम तीव्र गतिमा भएको छ । वडा नं. १ कुरुवान खोलामा पक्कि पुल निर्माणका लागि पूर्वाधार विकास विभाग मार्फत टेन्डर खोलेर आवश्यक प्रकृया अगाडि बढेको छ भने ४ नं. वडामा पनि नालि निर्माण सहितको सडक स्तरोन्नतिको काम भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । गाउँपालिका भित्रका नागरिकहरुलाई स्वच्छ खानेपानीका लागि एक घर एक धाराको कार्यक्रम निरन्तर चलेको छ । यस वर्ष मात्रै ६ नं. वडाको मस्यामको शिखरडाँडा र वडा नं १ कचलको चिउरेपानीको खानेपानी योजनाहरु सम्पन्न भएका छन् । वडा नं. २ को हरियाली गाउँको लिफ्टिङ खानेपानी योजनासहित अन्य वडाका योजनाको काम अन्तिम चरणमा रहेका छन् । चालु अवस्थामा रहेका योजनाहरु सकिदा सबै नागरिकको खानेपानीमा पहुँच पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

यस्तै स्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण काम भएका छन् । नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थानीय स्तरमै विभिन्न शीर्षकमा विशेषज्ञ सेवा सहितको शिविरहरु सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताए । यस्तै गरी जेष्ठ नागरिकलार्ई घरमै सेवा उपलब्ध गराउने काम निरन्तर रुपमा भएको छ । सेवाको पहुँच भन्दा टाढा भएका नागरिकका लागि हरियाली गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी सेवा प्रवाह गरिएको छ । स्वास्थ्य चौकीबाट निरन्तर सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । यसका साथै गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षा सुधारका लागि छलफल, अभिमुखिकरण कार्यक्रम गरेको छ । भएका पर्यटकीय स्थलहरुको सौन्र्दयकरण र नयाँ पर्यटकीय गन्तव्य पहिचान र निर्माणका लागि विभिन्न निकायसंगको सहकार्यमा काम गरिएको प्रवक्ता यादव प्रसाद अर्यालले जानकारी दिए ।

यस आर्थिक वर्षमा गाउँपालिकाको योजना तथा कार्यक्रम करिव ५ सय १५ रहेकोमा करिव ५ सय सम्झौता भएर काम भएको लेखा अधिकृत शंकर पुरीले जानकारी दिए । सञ्चालनमा रहेका अधिकाशं योजना फरफारकको अन्तिम चरणमा पुगेका छन् । अहिले सम्म गाउँपालिकाको पूजिंगत उपलब्धी ५५ प्रतिशत भएको छ । आर्थिक मसान्तसम्म ८५ प्रतिशत भन्दा बढी हुने दावी लेखा अधिकृत गिरीको रहेको छ । पछिल्लो समय संघीय सरकारले बजेट कटौती गरेका कारण अनुमानित प्रगतिमा समस्या हुनसक्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले नागरिकको सुविधालाई उच्च प्राथमिकता दिएर काम गरेको बताएका छन् । उनले गाउँपालिका भित्रका नागरिकहरुको माग र आवश्यकतालाई सिमित स्रोत र साधनबाट सम्बोधन गर्नेगरी कामहरु गरिएको समेत बताए । आफू राम्रो गर्न गाउँपालिकाको नेतृत्व लिएकोले सकेसम्म सबैको चित्त बुझाएर विकास र समृद्ध गाउँपालिका बनाउने अध्यक्ष श्रेष्ठको भनाइ छ । सोही अनुसार योजना र कार्यक्रम सञ्चालन गरी नागरिकको सेवामा खटेको उनको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय