तिनाउको घुम्ती सार्वजनिक सुनुवाइ

पाल्पा । तिनाउ गाउँपालिकाले घुम्ती सार्वजनिक सुनुवाइ १ नं. वडाको कचलमा सम्पन्न गरेको छ । गाउँपालिकाले सबै क्षेत्रका नागरिकलाई सेवा प्रवाह बारे जिज्ञासा राख्न सहज होस् भन्ने उद्देश्यले घुम्ती सार्वजनिक सुनुवाइको अभ्यास सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अघि ५ नं. वडा कार्यालय चर्चरेमा सार्वजनिक सुनुवाइ गरेको थियो । गाउँपालिकाले गरेको घुम्ती सार्वजनिक सुनुवाइमा नागरिकको उत्साहमूलक रुपमा उपस्थिति रहेको थियो । कचलमा भएको सार्वजनिक सुनुवाइमा करिव एक सय ५० बढी नागरिक सहभागी भएका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले चालु आर्थिक वर्षमा सम्पादन भएका कार्यहरुको विवरण प्रस्तुत गरेका थिए । सुनुवाइमा वडा नं. २ बाट सहभागी हुन पुगेका खगेन्द्र केसीले गाउँपालिकाको कार्यसम्पादन मुल्यांकन, एउटै व्यक्ति धेरै उपभोक्ता समूहमा बस्न पाईने कि नपाईने, मुख्यमन्त्री शैक्षिक सुधारका सामग्रीको गुणस्तरीयता, हरियाली स्वास्थ्य इकाई कार्यक्रमको खर्च सार्वजनिक, मोटरबाटो स्तरोन्नति, गाउँपालिकामा तला थप गर्दा भार थेग्न सक्ने कि नसक्ने ? जनताले बोकेर लैजाने बालुवामा किन कर लगाउने ? डिजिटल हाजिरी किन हट्यो ? लगायतका प्रश्न र जिज्ञासा राखेका थिए ।

त्यस्तै अर्का युवा हिमाल गाहाले खोलामा पक्कि पुल, मोटरबाटो स्तरोन्नति, युवा लक्षित कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, जनजाती कार्यक्रम, मिनिटिलर वितरणको मापदण्ड, खुर्साने कचल मोटरबाटो स्तरोन्नति, विजुलीमा फ्यूजको समस्यालगायतका बारेमा प्रश्न गरे । अर्का सहभागी खेम बहादुर बुचाले मोटरबाटो सर्वे गर्दा सबैको समन्वयमा हुनुपर्ने । योजनामा ठेकेदारलाई प्राथमिकता दिइएको, वडामा दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन, शिक्षक दरबन्दी नपुगेको, सूचना प्रणाली व्यवस्थित गर्नुपर्ने लगायतका विषयमा सुझाव राखे ।

सुनुवाइमा स्थानीय कृष्ण बहादुर अर्घाली, सावित्रा गुरुङ, रोम बहादुर लम्तरी, कृष्ण चिदी, निर बहादुर लाम्टांगे, केशव बराल, सन्देश छहरी मगर, कोकल बहादुर चिदी, हस्त बहादुर रास्कोटीलगायतले विद्यालयमा पुस्तक समयमा नआएको, दलित लक्षित कार्यक्रम नभएको, खोलामा माछा मार्न करेण्ट लगाउने क्रम रोक्न भईरहेको पहल, चउरेपानी खानेपानीको पाईप चोरी, बाह्रै महिना चल्ने मोटरबाटो हुनुपर्ने, योजना छनोटमा सबैलाई समेट्नु पर्ने विषयमा सुझाव, जिज्ञासा र प्रश्न राखेका थिए ।

सहभागीका सुझाव, प्रश्न र जिज्ञासा बारे गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले प्राप्त सुझावलाई आत्मसाथ गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिका सधै नागरिकको सहज सुविधाका लागि सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । नागरिकको माग र आवश्यकताका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरिएकोले काम गर्दा अञ्जानमा भएका केही समस्याहरु भए त्यसप्रति जिम्मेवार भएर आगामी दिनमा सुधार गरेर लैजाने अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा उपाध्यक्ष लाल बहादुर थापाले सबैको सल्लाह र सुझावबाटै गाउँपालिका राम्रो हुने बताए । कार्यक्रममा उठेका सवालहरु प्रति वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखलगायतले विषय बारे स्पष्ट पारेका थिए । सार्वजनिक सुनुवाइको पत्रकार विजयकुमार बौडेलले सहजीकरण गरेका थिए ।

सम्बन्धित खवर