
पाल्पा । रिब्दीकोट गाउँपालिकाले जैविक मल उत्पादन गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । गाउँपालिकाको वडा नं ५ नयाँ टोलमा जैविक मल उत्पादनको सम्भाव्यता बारे अध्ययन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
वर्षेनी किसानको खेतीका लागि आवश्यक मात्रामा मल सरकारले समयमा उपलब्ध गराउन नसक्ने अवस्थालाई मध्यनजर गरी कृषकलाई सहयोग गर्ने उद्देश्यले जैविक मलको उत्पादनका विषयमा अध्ययन गरिएको हो । समयमा मल प्राप्त नगर्दा कृषकको कृषि उपज उत्पादनमा खेप्नुपरेको समस्यालाई मध्यनजर गरेर गाँउपालिकाले विकल्पमा जैविक मल उत्पादनको कारखाना खोल्ने उपयुक्त स्थानको खोजीका लागि वडामा अध्ययन थालिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए ।
रिब्दीकोट गाउँपालिकाले आवधिक योजनादेखि वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको छ । कृषकहरुलाई व्यवसायिक रुपमा उत्पादनसंग जोडेर आर्थिक समृृद्धिको यात्रा तय गर्ने गरी कार्यक्रम सञ्चालनमा जोड दिइएको अध्यक्ष कार्कीको भनाइ छ । उनका अनुसार नीति तथा कार्यक्रममै समावेश गरेर कृषिबाट समृद्ध खोज्दै अघि बढ्दै जाने लक्ष्य सहित रासायनिक मलको सट्टा जैविक मल कारखाना खोल्न लागि परेको बताए ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले जैविक मल कारखाना खोल्नका लागि स्थान उपयुक्त देखिएको बताए । उनले प्राविधिक टोली सहित आवश्यक योजना तय गरी प्रक्रिया अघि बढेको जानकारी दिए । गाउँपालिकाका अधिकांश जनता कृषि क्षेत्रमा संलग्न भएको र उनीहरुलाई आवश्यक परेको समयमा मल उलब्ध गराउन स्थानीय सरकार गम्भीर भएर काम गरेको गाउँपालिकाले जनाएको छ । स्थानीय स्तरमै जैविक मल उत्पादन गर्न सकेको खण्डमा वर्षेनी कृषकहरु मलकै लागि दुःख पाउनु पर्ने अवस्थाको अन्त्य हुनुका साथै स्थानीय सरकार कृषकको सहयोगी बन्ने प्रमुख प्रशासकीय अधिकृत अर्याललको भनाइ छ ।








