पाल्पा । रम्भा गाउँपालिकाले शैक्षिक सुधारका लागि विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आईरहेको जनाएको छ । शिक्षक, विद्यार्थी र अभिभावकका लागि आवश्यक कार्यक्रम सञ्चालन गरेर समग्र गाउँपालिकाको शैक्षिक विकास गर्ने उद्देश्यका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ । प्रविधिमैत्री शिक्षण सिकाईका लागि तलिम सञ्चालन गरिएको हो ।
यसैबीच समय अनुसार विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन शिक्षकहरुका लागि ४ दिने कम्प्युटर तालिम मंगलबार देखि गाउँपालिकामा सुरु भएको छ । तालिममा गाउँपालिका भित्रका १ नं. वडा हुँगी २ नं. वडा फोक्सी·कोट र ३ नं. वडा पिपलडाँडा भित्र रहेका विद्यालयका शिक्षक गरी २३ जनाको सहभागिता रहेको छ । तालिममा गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख सुरज पाठक, रोजगार सहायक सिर्जना घर्तीमगर, पञ्जिकरण शाखा प्रमुख सुरेन्द्र अर्यालले सहजीकरण गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले तालिमले समय अनुसार विद्यालयका गतिविधिलाई व्यवस्थित गर्न सहज हुने बताए । उनले शिक्षकहरुमा कम्प्युटर सम्बन्धी ज्ञान, सीप नहुँदा पनि सिकाई उपलब्धीमा समस्या हुने भएकोले शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन तालिम सफल बन्ने विश्वास व्यक्त गरे । उनले तालिममबाट प्राप्त ज्ञानलाई विद्यालयको दैनिक क्रियाकलापमा लागु गर्नुपर्ने बताउँदै अबको समय प्रविधिमैत्रि भएर काम गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले प्रविधिसँग जोडिएर अध्यापन गराउन सकेको खण्डमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने बताइन् । उनले समय अनुसार विद्यालय सञ्चालनमा ल्याउन नसक्दा समस्या भएको बताउँदै तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । गाउँपालिकाका लेखा अधिकृत पोष्टराज न्यौपानेले प्राविधिक क्षेत्रको तालिमले विद्यालयको कम्प्युटर शिक्षा प्रदान गर्न र विभिन्न अभिलेख राख्न सहयोग पुग्ने बताए । उनले हरेक ज्ञानको प्रयोग सहज रुपमा गर्नसक्ने अवस्था भए त्यसको उपलब्धी हुने भएकोले सोही अनुसार सहभागीले काम गर्नुपर्नेमा जोड दिए ।
शिक्षा शाखा प्रमुख मिना देवि आचार्यले प्रविधि ज्ञानले शिक्षकहरुलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिन् । उनले गाउँपालिकाको शिक्षा सुधारका लागि तालिम महत्वपूर्ण रहेको समेत बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुुजंग रानाको प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नारालाई सार्थक बनाउन कम्प्युटर तालिम सञ्चालन गरिएको बताए । उनले तालिम संगै विद्यालयमा प्राविधिक शिक्षा अध्यापनका लागि शिक्षकहरुलाई सहज हुने बताए ।