
विजयकुमार बौडेल
पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नं. २ मसाहारका केशव राना बाँझो पाखोलाई बारी बनाएर व्यवसायिक तरकारी खेतिमा लागेका छन् । विदेशमा जती गरेपनी स्वदेशको जस्तो अनुभूती नरहने अनुभव गरेका रानाले लटरम्म फलेका टमाटर देखाउँदै भने, “बाँझो रहेको यही पाखोमा मैले वार्षिक १५ लाख बढीको कारोवार गर्ने लक्ष्य राखेको छु ।” राना मात्र होईन विदेशबाट फर्केर मसाहारका १२ जना युवाले सामूहिक रुपमा नयाँ सोंचसहित तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका हुन् ।
रिब्दीकोट गाउँपालिका वडा नं. २ का जीवन राना पनी वैदेशिक रोजगारीमै थिए । वैदेशिक रोजगारी बाट फर्केर परिवार चलाउनकै लागि अर्थोपार्जनका विभिन्न उपाय सोंच्दै गरेका रानाले सामूहिक कृषि खेतीको अवधारणा बनाए । अहिले उनीसहित मसाहाराका १२ जना युवा मिलेर मसाहारमै सामूहिक तरकारी खेती गरिरहेका छन् । उनीहरु सबै वैदेशिक रोजगारीबाट घर फर्किएका हुन् । गाउँपालिकाले निरन्तर दिएको हौसला र प्राविधिक सहयोगले आफू सफल भएको रानाले बताए । रानाले गाउँमै केही गर्छु भन्ने किसानहरुका लागि रिब्दीकोट गाउँपालिका सारथी भएको बताए । विदेशमा भन्दा स्वदेशमा काम गर्दा छुट्टै प्रकारको आनन्द आउने कृषक रानाको अनुभव छ । “विदेशमा अरूको मातहतमा बस्नुपर्छ, समयमा तलब आउने ग्यारेन्टीसमेत हुँदैन”, उनले भने, “यहाँ त आÇनै प्रकारको स्वतन्त्रता छ ।”
उनीहरुले खेती गरिरहेको जग्गा विगतका केही वर्षदेखि बाँझो थियो । जसले गर्दा बारीमा झाडी उम्रिएर जंगलमा परिणत भएको थियो । युवाले आफूहरूको परिश्रमसहित जंगल फँडानी गरी अहिले तरकारी लगाएका छन् । बारीमा अहिले ६० हजार टमाटरको बेर्ना लगाईएको छ । त्यस्तै खुर्सानीलगायतका अन्य तरकारी पनी रहेका छन् । अन्य तरकारीका बेर्नाहरू पनि यामअनुसारका उत्पादन गर्छन् । उत्पादित कृषिजन्य सामग्री बेचबिखनका लागि रिब्दीकोट गाउँपालिकाले समन्वय गर्ने जनाएको छ । गाउँपालिकाकै पहलमा उनीहरुलाई प्रदेश सरकारबाट ८ लाख रुपैंया सय प्रतिशत अनुदान दिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । कार्कीले गाउँपालिकाले प्राविधिक सहयोग संगै मल, बीउ, मल्चिङ प्लाष्टिक, क्यारेट, काँटालगायतका थप सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । यहाँ मात्र नभएर अन्य वडा र टोलहरुमा पनि गाउँपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्दै आएको कार्कीको भनाइ छ । कृषिबाट नै गाउँपालिकाका नागरिकहरुको आर्थिक समृद्धि गराउन सकिन्छ भन्ने लक्ष्यका साथ कृषिमा प्राथमिकता दिएर काम गरेको उनले बताए ।
विदेशमा काम गर्नेको तुलनामा ६० प्रतिशत मात्रै मिहिनेत गरे घरमै राम्रो आम्दानी हुने रानाको भनाइ छ । भविष्यमा आफूहरूले उक्त ठाउँलाई टमाटरको पकेट क्षेत्र बनाउने योजना रहेको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । गाउँमै केही काम गर्ने साेंच बनाएका युवाहरुले सामूहिक खेतीमा भविष्य देखेर काममा होमिएको भन्दै उनीहरुलाई स्थानीय सरकारले सक्दो सहयोग गर्ने वडा नं. २ का वडाध्यक्ष ओम प्रसाद पोखरेलले बताए ।
रिब्दीकोट गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक सुनिल बस्यालले गाउँपालिका भित्रका व्यवसायिक कृषि फार्मलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम बनाइएको बताए । गाउँपालिकाले कृषकलाई तालिम, अनुदान, युवा लक्षित कार्यक्रम, हाते टेक्टर, स्प्रेयरजस्ता सामग्री प्रदान गरिएको बस्यालले बताए । कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी गाउँपालिकाले गरेको र यसबाट धेरै कृषक लाभान्वित भएको संयोजक बस्यालको भनाइ छ ।