‘पाल्पा गोल्ड कप’ का तीन खेल सकिए

पाल्पा । तानसेनमा सोमबारदेखि सुरु भएको कर्णेल उजीरसिंह पाल्पा गोल्ड कपमा बुधबारसम्म तीन खेल भएका छन् । फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाल्पा–११ ले रूपन्देहीको लिस्नु क्लबलाई २–० गोलले पराजित गरेको छ । पाल्पाका लागि दुवै गोल आशिष रानाले गरेका हुन् । खेलको १२ औं मिनेट र दोस्रो हाफको ९ मिनेटमा रानाले गोल गरेका हुन् । लिस्नु क्लब रुपन्देही रक्षात्मक र आक्रामक खेले पनि रानाको गोल रोक्न सकेन । खेलमा म्यान अफ द म्याच पाल्पा–११ का राना घोषित भए । उनले नगद रु. ३ हजार पाए ।

मंगलबार भएको खेलमा रुपन्देही ११ लाई हराउँदै नवलपरासी पूर्वको २८ बिघा विजयी भएको छ । २८ बिघा पूर्वनवलपरासीले रुपन्देही–११ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको हो । निर्धारित समयमा दुवै पक्षबाट १–१ गोलको बराबरी र थप समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा २८ बिघाका लागि अजित लामा, शिव बोटे, वीरेन्द्र सारु र सुन्दास चौधरीले गोल गरे । रुपन्देही ११ का सुजित चौधरी, मिसान दर्लामी र मनोज श्रेष्ठले गोल गरेपनि निसान न्यौपानेको गोल चुकेसँगै २८ बिघा विजयी भएको हो । खेलमा पहिलो हाफको खेल सकिदासम्म दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफको १३ औं मिनेटमा २८ बिघा नवलपरासीका प्रकाश पुनले गोल गरेर खेललाई अग्रता दिलाएका थिए । उनको गोल रुपन्देहीका बलराम न्यौपानेले ३७ औं मिनेटमा फर्काएर बराबरीमा ल्याएका हुन् । खेलमा म्यान अफ दी म्याच २८ बिघा नवलपरासीका गोलरक्षक वीरेन्द्र सारु भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

यस्तै बुधबारको खेलमा सेन्ट्रल कलेज रामपुर फुटबल क्लब रोड्स चितवनले न्यू युथ युनियन फुटबल क्लब पाल्पालाई ट्राइब्रेकरमा ४–२ गोलले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलमा निर्धारित समयमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । थप समयमा गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको हो । खेल सुरु भएको चार मिनेटमा रोड्स रामपुर चितवनका विक्की राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए भने न्यू युथ युनियन पाल्पाका मनिष तामाङले ३६ औं मिनेटमा गोल फर्काएका थिए । दुबै टिमबाट निर्धारित समय र थपिएको समयमा गोल हुन नसकेपछि खेल ट्राइबे्रकरमा पुगेको हो । ट्राइब्रेकरमा रामपुर चितवनका लागि विक्की चाम्लिङराई, आकास थापा मगर, सन्त बहादुर गुरुङ र सचिन थापा मगरले गोल गरे । न्यू युथ युनियनका सुशील थापा र खमिर सिंजालीले जाली चुमे भने सन्दीप राना र तारा थापाले गोल गर्न नसकेपछि चितवन विजयी भयो । खेलमा म्यान अफ दि म्याच रोड्स चितवनका जितेस गुरुङ भएर नगद रु. ३ हजार पाए ।

भाेलीको खेल स्वयम्भु युथ क्लब काठमाडाैं र विष्णु पादुका युथ क्लब पोखराबीच हुने आयोजक पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले बताए । लिस्नुलाई पराजित गरेको पाल्पा १९ गते शुक्रबार फोर ब्रदर्स नवलपरासी पश्चिमसँग खेल्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा पाल्पा ११ र लिस्नु क्लबका साथै फोर ब्रदर्श नवलपरासी (पश्चिम), रोडस् रामपुर फुटबल क्लब चितवन, गार्डेन फुटबल क्लब पोखरा, बीर गोर्खाली लखनउ भारत रहेका छन् । यस्तै समूह ‘बी’ मा रुपन्देही ११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङ्जा वालिङ, स्वयम्भु युथ क्लब काठमाडौ, विष्णुपादुका युथ क्लब पोखरा, दि फेमश महिन्द्र दल गण पाल्पा रहेका छन् ।

समूह ‘ए’ बाट रोड्स रामपुर चितवन र गार्डेन पोखराबीच भएको खेलमा जित्नेले बीर गोर्खाली भारतसंग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस्तै पाल्पा ११ र लिस्नुबीच भएको खेलमा विजेताले फोर ब्रदर्श नवलपुर (पश्चिम) संग प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा पर्ने रुपन्देही ११ र २८ बिघा नवलपरासी (पूर्व) बीचको खेलमा जित्नेले स्याङ्जाको होराइजनसँग प्रतिस्पर्धा गर्नेछ । स्वयम्भु काठमाडौं र बिष्णुपादुका पोखराबीचको विजेताले दि फेमस महिन्द्र दल गणसँग खेल्नेछ ।

१२ समूहको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेष्ठ २७ गते हुने छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ३ लाख, दोस्रो हुने टिमले नगद रु. १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद रु. ३ हजार दिइएको छ भने उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद रु. ६ हजार प्रदान गरिने छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय