पाल्पा । माथागढी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता वडा तथा पालिका घोषणा गरिएको छ ।
घोषणा सभा कार्यक्रममा पहिला गाउँपालिकाले वडाहरुलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा गर्दै गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक यम बहादुर चिदीले सम्बन्धित वडा अध्यक्ष र स्वास्थ्य संस्था प्रमुखलाई घोषणाको प्रमाण पत्र हस्तान्तरण गरे । यसका साथै जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले माथागढी गाउँपालिकाका अध्यक्ष चिदीलाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितताको प्रमाण पत्र हस्तान्तरण गरे ।
माथागढी गाउँपालिका अन्तरगतका वडाहरुले २०७९ को माघ र फागुनमा घरधुरी सर्बेक्षण गरी तथ्याङ्क संकलन गरेर वडा खोप समन्वय समितिले कुनै पनि बालबालिका खोप सेवा बाट बञ्चित नभएकोले गाउँपालिकालाई वडाहरु पूर्ण खोप सुनिश्चित घोषणाको लागि अनुरोध भएकोमा माथागढी गाउँपालिका स्तरीय खोप समन्वय समितिले सर्बेक्षण गरी काम अगाडि बढाएको स्वास्थ्य शाखा संयोजक केशवबहादुर जिसीले जानकारी दिए । यसका साथै गाउँपालिका भित्र खोप छुटेको नदिखएकोले पूर्णखोपयुक्त वडा घोषणाको लागि मापदण्ड पुरा गरेकोले पूर्णखोप वडा घोषणा गर्ने निर्णय गरिएको उनको भनाइ छ । सोहि अनुसार जिल्ला खोप समन्वय समितिलाई गाउँपालिकालाई समेत पूर्णखोप पालिका सुनिश्चितताको लागि अनुरोध गरिएकोले एकैदिन गाउँपालिका र वडालाई पूर्ण खोपयुक्त वडा तथा पालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिए ।
घोषणा सभामा माथागढी ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले घोषणा पश्चात पनि निरन्तरताको लागि प्रतिबद्दता व्यक्त गरे । स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्र प्रसाद गिरी गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेलगायतले पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएकोमा धन्यवाद ब्यक्त गर्दै खोप सेवा अत्यन्तै प्रभावकारी कार्यक्रम रहेको बताउदै यसको दिगोपनाका लागि सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताए । वडाध्यक्ष,कार्यपालिका सदस्य सहितको सहभागिता रहेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको स्वागत, गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षता र स्वास्थ्य संयोजक केशब बहादुर जिसीको संचालनमा भएको हो ।