विजयकुमार बौडेल
पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. ६ को हेक्ला·को स्वास्थ्य चौकीमा नयाँ भवनको निर्माण गरिएको छ । नव निर्मित भवनको प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य र प्रदेशसभा सदस्य खेमबहादुर सारुले संयुक्त रुपमा उद्घाटन गरेका छन् । भवन निर्माणका लागि एक करोड ७ लाख ४६ हजार ८ सय ३६ रुपैंयाँ बजेटमा २०७७ माघ १८ गते ठेक्का सम्झौता भएको थियो । २०७९ जेठ २० गते सम्पन्न हुनुपर्ने भवन कोभिडका कारण म्याद थप गरिएको थियो । भवन निर्माणका लागि संघीय सरकारको ७५ लाख, जिल्ला समन्वय समितिको ३० लाख र गाउँपालिकाको २५ लाख रुपैंया बजेट विनियोजन भएको थियो ।
भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य आचार्यले भौतिक संरचना निर्माणसंगै गुणस्तरीय सेवा प्रदान गर्न गाउँपालिका लागि परेकोमा खुसी व्यक्त गरे । उनले पूर्वखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नमुना काम गर्दै आएको बताउँदै निर्माण भएका संरचनाको संरक्षणमा स्थानीयवासी आफै चनाखो हुनुपर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य सारुले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सुरुका समयदेखि नै पूर्वखोला गाउँपालिका लागि परेको बताए । उनले जनअपेक्षा अनुसारको शिक्षा र स्वास्थ्यमा सुधार क्रमिक रुपमा भएकोले समय अनुसारको गुणस्तरीय शिक्षा र मजबुत स्वास्थ्य क्षेत्रका लागि प्रदेश सरकारमा आफ्नो समन्वय निरन्तर रहने बताए ।
“विगतमा भवन नहुँदा बिरामीले सास्ती खेप्नुपर्ने अवस्था थियो । घामपानी, हावाहुरी, कठ्यांग्रिदो जाडो झेल्दाको पीडा व्यक्त गरेर साध्य छैन ।” गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले भने , “अब बिरामीले स्तरीय सेवा पाउनेछन् । स्वास्थ्यकर्मी कर्मचारी, सेवाग्राही सबैलाई ठूलो राहत मिलेको छ ।”
कार्यक्रममा भेला भएका स्थानीय नागरिकहरु स्थानीय क्षेत्रमा गुणस्तरीय सेवा सहितको स्वास्थ्य चौकी भवन पाएपछि उत्साहित भएका छन् । स्वास्थ्य चौकीको नयाँ भवन बनेपछि स्वास्थ्य स्वंयसेविकाहरु पनि हर्षित भएका छन् । बिरामीलाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकी जानुपर्छ भन्न पनि सजिलो भएको स्वास्थ्य स्वयम्सेविकाहरुले बताएका छन् ।
“हामीलाई अत्यन्तै गर्व लागेको छ । विभिन्न कठिनाइ सहेर पनि हामीले योजना अनुसार काम गर्न सक्यौं र यसबाट तपाईंहरूलाई राहत मिल्छ भन्ने विश्वास पनि गरेका छौं”, गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले भने “अब यसलाई सचेतपूर्वक उपयोग गर्नुहोस् । हामी सदैव यस्ता काम गर्ने कोसिसमा हुनेछौं । तपाईंहरुको सेवाका लागि कुनै भौतिक पूर्वाधारका कारणले रोकिने छैन ।” स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीयले गरेको सहयोगलाई सकारात्मक रूपमा लिएको र स्थानीय सरकार पनि स्वास्थ्य चौकी भवन र्निर्माणमा सक्रिय भएर लागेको अध्यक्ष थापाले बताए ।
कार्यक्रमका अवसरमा गाउँपालिकाले स्वास्थ्य चौकी भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र, खादा र मालाले सम्मान गरेको छ । त्यस्तै स्वास्थ्य चौकीमा बच्चाको नियमित तौल जाँच गर्न आउने आमा तथा बच्चाहरुलाई स्वास्थ्य तथा सरसफाईका सामग्री प्रदान गरिएको छ ।
स्वास्थ्य चौकी भवनको उद्घाटन संगै हेक्ला·लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा तथा सुरक्षित गर्भपतन सेवाको सुरुवात समेत गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई, विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्यहरु, स्थानीय सरोकारवालाहरु
लगायतले स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएपछि हेक्ला·बासीहरुका लागि स्वास्थ्य सेवाको पहुँच वृद्धि हुने विश्वास लिएका छन् । पूर्वखोला गाउँपालिका नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउन वडामा रहेका स्वास्थ्य चौकीहरुको पूर्वाधार निर्माणमा ध्यान दिएर अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख ढकालको भनाइ छ । उनका अनुसार अहिलेसम्म विरकोट, रिङनेरह र हेक्ला·मा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण सम्पन्न भएको, जल्पामा भवन निर्माण कार्य भैरहेको र देविनगर र सिलुवाको स्वास्थ्य चौकीका लागि भवन निर्माण गर्न आवश्यक पहल भैरहेको जानकारी दिए ।