तिनाउको शैक्षिक सुधारका लागि योजना तयार

पाल्पा । तिनाउ गाउँपालिका पाल्पाले समग्र शैक्षिक अवस्था सुधारका लागि शैक्षिक योजना तयार गरिरहेको जनाएको छ ।

गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयबाटै समय अनुसारको गुणस्तरीय शिक्षा सहज रुपमा उपलब्ध गराउने उद्देश्य अनुसार योजनाको काम भैरहेको शिक्षा शाखा प्रमुख लक्ष्मी कुवँरले जानकारी दिइन् । उनले विश्व बजारमा सजिलै प्रतिस्पर्धा गरेर बिक्ने र टिक्ने जनशक्ति उत्पादनका लागि आवश्यक नीति नियम, योजना र कार्यक्रमका लागि सहजीकरण गर्न शिक्षाविदहरुसँगको समन्वय र उपस्थितिमा शैक्षिक विमर्श कार्यक्रम सञ्चालन गरिएको बताइन् । जसबाट गाउँपालिकाले शिक्षा अवस्था, समस्या र सम्भावनाका विषयमा यर्थात अवस्था पहिचान गरेर योजना निर्माण कार्य गरिरहेको शिक्षा शाखा प्रमुख कुवँरले बताइन् । योजना कार्यान्वयन पछि शैक्षिक अवस्थामा सुधार आउने विश्वास उनको छ ।

गाउँपालिकाको शैक्षिक अवस्था चिन्ताजनक हुँदा विद्यार्थीहरु अन्यन्त्र अध्ययनका लागि जानुपर्ने बाध्यता रहेको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कमजोर हुनु, यातायातको सुविधा नहुँनु, प्रविधिमैत्री नहुँनु जस्ता कारणले गाउँपालिका भित्रका विद्यार्थी अध्ययनका लागि दैनिक बुटवल, तानसेन दुख पाउनुपर्ने अवस्था रहेको अभिभावकको भनाइ छ । गाउँपालिका भित्रका विद्यालयमा अंग्रजी माध्यममा अध्ययन गराउने, प्रविधिमैत्री भएर यातायातको सुविधा उपलब्ध भए अन्यन्त्र छोराछोरीलाई पढ्न पठाउन नपर्ने उनीहरुले बताएका छन् ।

सामुदायिक विद्यालयमा अहिले तुलनात्मक रुपमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । अब पूर्वाधार निर्माणका लागि भन्दा शैक्षिक गुणस्तर सुधार तर्फ ध्यान केन्द्रीत गर्नका लागि विद्यालय र अभिभावकहरुसँग समन्वय गरेर अगाडि बढ्ने योजना गाउँपालिका संग रहेको शिक्षा शाखा प्रमुख कुवँरले बताइन् । तिनाउमा माध्यमिक विद्यालय ९, आधारभूत विद्यालय ११ प्राथमिक विद्यालय १९ वटा सामुदायिक विद्यालयहरु रहेका छन् भने संस्थागत विद्यालय एक मात्र रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले शिक्षालाई गुणस्तर बनाउनु पर्छ भन्नेमा अहिलेको नेतृत्व प्रतिबद्ध रहेको बताए । उनले सोही अनुसार अनुगमन कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको बताए । यसका साथै गत शैक्षिक सत्रको नतिजा सन्तोषजनक नभएका कारण शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ, विद्यालयका प्रधानाध्यापक र गाउँपालिकाको नेतृत्वले गहन रुपमा छलफल गरेर काम गरिरहेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले शिक्षा गुणस्तरीय बनाउन आगामी वर्षमा थप बजेट विनियोजन गरेर नमुनायोग्य काम गरिने समेत बताए ।

सम्बन्धित खवर