स्मार्ट कृषि गाउँ कार्यक्रमबाट व्यवसायिक बन्दै कृषक

पाल्पा । स्मार्ट कृषि कार्यक्रम लागु भएको क्षेत्रका कृषक क्रमिक रुपमा व्यवसायिक बन्दै गएको पाइएको छ । जुगौंदेखि घरपरिवारले गुजाराको खेती गर्दै आएका कृषक कार्यक्रम मार्फत अनुदान, सीप र क्षमता विकासले गर्दा व्यावसायिक बनेका हुन् ।

यसको एउटा उदाहरण रिब्दीकोट गाउँपालिका वडा नं. ६, ठीमुरे पोरकनीका कृषकलाई लिन सकिन्छ । विगत लामो समयदेखि विदेश र अन्य पेशालाई ठूलो मान्ने तर सम्भावना भएको कृषि पेशालाई निर्वाहमूखी बनाएका यहाँका जनता अहिले व्यवसायिक तरकारी खेतीमा जोडिएका छन् ।

लुम्बिनी प्रदेश सरकारको गौरवको योजना मानिने स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि यहाँका ९६ घरपरिवार गुजारा खेतीलाई व्यवसायिक बनाएका हुन् । जिल्लामा कृषि ज्ञान केन्द्र मार्फत सहजीकरण हुने यो कार्यक्रममा पौरखनी स्मार्ट कृषि गाउँ कार्यक्रमका नाममा सञ्चालन गरिएको छ । आर्थिक वर्ष २०७७÷७८ बाट सञ्चालनमा आएको कार्यक्रम तेस्रो वर्षमा चलेको छ । अहिले कृषकहरुले कृषिमा मेहनत गर्नसके आम्दानी रहेको बुझेका छन् । आम्दानीका लागि विदेश जाने अवस्थाको अन्त्य भएको छ । दैनिक घरखर्चमात्र हैन समय अनुसारको गुणस्तरीय जीवन बिताउन सहज भएको कृषकहरुले बताएका छन् ।

चार आर्थिक वर्षका लागि कृषि ज्ञान केन्द्र पाल्पाबाट उपलब्ध हुने २८ लाख ७ हजार ५ सय र स्थानीय तह र कृषकबाट जम्मा १८ लाख ८७ हजार गरी कूल ४६ लाख ९४ हजार ५ सय रुपैँयामा २०७८ मंसिरको अन्त्यबाट कार्यक्रम सुरु भएको कार्यक्रमका संयोजक शम्भु नेपालले बताए । स्मार्ट कार्यक्रमले ६ वटा प्राथमिकतालाई ध्यानमा राखेर क्रियाकलापहरु तयार गरी कार्यान्वयनमा ल्याइएको छ । जसमा जलवायु स्मार्ट, सिंचाई स्मार्ट, खाद्य पोषण स्मार्ट, प्रविधि स्मार्ट, बजार स्मार्ट र अन्तर सम्बन्धित विषयहरुलाई प्राथमिकीकरण गरेर कार्यक्रम तय गरिएको संयोजक नेपालको भनाइ छ । कार्यक्रमले कृषकहरुका लागि बीउ देखि बजारसम्मको सुविधा सुनिश्चित हुने गरी काम भएको छ । स्मार्ट गाउँ कार्यक्रम सुरु हुनु भन्दा पहिले कृषकहरु सामान्य तरकारी खेती गर्दै आएता पनि कार्यक्रमले गर्दा अधिकांश कृषकहरु व्यवसायिक रुपमा तरकारी खेती गर्दै आम्दानी लिन थालेको सहसंयोजक सीता ज्ञवालीले बताइन् ।

यस क्षेत्रमा करिव २ सय ५० रोपनी भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । कृषकको माग अनुसार तरकारीका बीउहरु, विषादीहरु, प्लाष्टिक टनेल, सिँचाई पाईप, पोखरी, मल्ची·, एप्रोन सेट, मिनिटिलर, डिजिटल काँटा, बजारिकरणको लागि कर्पोरेट जस्ता कृषि साम्रगी वितरण गरिएको सहसंयोजक ज्ञवालीको भनाइ छ । कार्यक्रमको प्रभावकारीताका विषयमा कृषि ज्ञान केन्द्रको नेतृत्वमा संयुक्त स्थलगत अनुगमन गरिएको छ । जसमा कृषकहरुले कृषि कार्यक्रमले आफूहरुको जीवनशैली नै परिर्वतन गरेको बताए । उनीहरुले ज्ञान सीप र अनुदान प्राप्त गरेपछि कृषिमा भविष्य देखेको बताए । कृषकहरुले उत्पादन भएको कृषि उपज बजारसम्म लैजान समस्या भएकोले विचौलियाको भर पर्नुपर्ने बाध्यता रहेकोले यस विषयमा पनि सहयोग गर्न अनुरोध गरे ।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले मिहेनत नगरी उपलब्धी हासिल नहुने बताए । उनले प्राप्त अनुदानको अधिकतम प्रयोग गरेर निरन्तर कृषि कर्ममा लाग्न आग्रह गरे । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कृषि क्षेत्रमा प्राविधिले ठूलो फड्को मारेको बताए । तर सम्भावना भएपनि दैनिक रुपमा विदेश जानेको संख्या घटाउन नसकिएको बताए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले अहिले आम्दानी र खर्च बराबरी हुनसक्छ निन्तरता दिएपछि आम्दानी बढ्ने भएकोले कृषि कर्म नछाड्न आग्रह गरे । कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले कामको अवस्था बारे जानकारी गराउने र राय सुझावका लागि संयुक्त अनुगमन कार्यक्रम गरिएको बताइन् । उनले कार्यक्रमको उद्देश्य अनुसार कृषकहरु काम गरेर फाईदा लिन थालेकोमा खुसी व्यक्त गरिन् । यसका साथै कृषकहरुको बजारिकरणको समस्या समाधानका लागि आवश्यक पहल गर्ने समेत बताइन् । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले कृषकको माग अनुसार गाउँपालिकाले कृषिलाई प्राथमिकता दिएको बताए ।

सम्बन्धित खवर