बगनासकालीको एक वर्षका काम सार्वजनिक

पाल्पा । बगनासकाली गाउँपालिका पाल्पाको दोस्रो स्थानीय तहको निर्वाचनपछि आएको नेतृत्वले एक वर्षमा सम्पादन गरेको काम सार्वजनिक गरेको छ ।

गाउँपालिकाका विभिन्न शाखाबाट सम्पादन भएका कार्य प्रगति र नमुना काम सार्वजनिक गरिएको हो । दैनिक सम्पादन गर्नुपर्ने काम सहित केहि नमुना काम गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । उनले सम्पादन भएका कार्य हेर्दा सामान्य लाग्ने भएपनि त्यसले दुरगामी प्रभाव पार्ने गरी काम गरिएको बताइन् ।

गएको एक वर्षमा आफ्नो नेतृत्वमा स्थानीय सरकार सञ्चालनमा आएपछि नागरिकको सुविधालाई ध्यानमा राखेर सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरणको व्यवस्था मिलाएको अध्यक्ष चिदीले बताइन् । यसका सागै गाउँपालिका भित्र रहेका ‘ग’ वर्गको अपांगता भएका व्यक्तिलार्य मासिक ५ सय र ‘घ’ वर्गका व्यक्तिलाई मासिक ३ सय रुपैयाँ भत्ता उपलब्ध गराइएको छ ।

वडास्तरमै नागरिकले सहज रुपमा सेवा दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरी योजना सम्झौता समेत गरिएको अध्यक्ष चिदीको भनाइ छ । विकासमा नागरिकको सहभागिता सुनिश्चित गर्नका लागि ७६ वटा टोल विकास संस्था गठन गरेर क्षमता विकास तालिम समेत दिइएको छ । गाउँपालिका भित्र रहेका १९ जना अभिभावक विहीन बालबच्चालाई मासिक एक हजार रुपैयाँ सहयोग रकम दिने काम भएको, महिला स्वास्थ्य स्व्यमसेविकाका लागि मासिक एक हजार र सुत्केरी महिलालाई थप सुविधाका लागि एक हजार पाँच सय दिने काम सुरु गरेको अध्यक्ष चिदीले जानकारी दिइन् । यसका साथै उज्यालो बगनासकालीका लागि स्वास्थ्य संस्था, विभिन्न धार्मिक तथा महत्वपूर्णहरुमा सोलार प्यानल जडान, स्थानीय पाठ्यक्रम निर्माण र कार्यन्वयन जस्ता कामलाई उच्च प्राथमिकताका साथ लागु गरिएको अध्यक्ष चिदीले बताइन् ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले सबै वडामा टोल विकास समिति गठन गरेर योजना छनोट प्रकृया देखि कार्यान्वयन सम्ममा नागरिक सहभागीता सुनिश्चित गरिएको बताए । उनले यसका साथै लिफ्टीङ खानेपानी योजनाको विद्युत महशुल र मोटर मर्मतमा समेत ६० प्रतिशत अनुदानको व्यवस्था गरिएको जानकारी दिए । यस चालु आर्थिक वर्षमा गाउँपालिकाको कृषि, स्वास्थ्य र शिक्षामा प्राथमिकता दिएर काम गरिएको छ ।

क्षेत्रगत रुपमा कृषि अन्तरगत विभिन्न पकेट क्षेत्र विस्तार, स्वास्थ्य अन्तरगत घरदैलोमा स्वास्थ्य सेवा र शिक्षातर्फ शिक्षकहरुलाई प्रविधिमैत्री तालिम र शैक्षिक सुधारका योजना सञ्चालन भएको उपाध्यक्ष पाठकको भनाइ छ । विकासका कामबाट आफूहरु उत्साहित बनेको उनको भनाइ छ । यसका साथमा आर्थिक सुशासनलाई प्राथमिकता दिएर अगाडि बढेको उपाध्यक्ष पाठकले बताए । खर्चको मितव्ययिता गर्दागर्दै पनि आन्तरिक आम्दानी कम हुँदा सोच र जनताको माग अनुसार योजना कार्यान्वयनमा समस्या छ । यसमा संघ र प्रदेशले बजेट कटौती गर्दा थप समस्या भएको उपाध्यक्ष पाठकले बताए ।

गाउँपालिका बेरुजु रकम न्यून गर्नेतर्फ केन्द्रित रहेको गाउँपालिकाका लेखा अधिकृत कोशलराज पौडेलले बताए । उनले यस चालु आर्थिक वर्षमा मात्र तीन करोड २१ लाख ९ हजार संम्परीक्षण गरिएको जानकारी दिए । वितिय प्रगति ः चालु खर्च ६८ दशमलव २ प्रतिशत पूजिंगत खर्च ४८ दशमलब २८ औषतमा ६१ दशमलब २१ प्रतिशत रहेको जानकारी दिए । सम्झौता भएका योजनाको काम तीव्र रुपमा भएको र फरफारको अन्तिम चरणमा रहेकोले विकास बजेट खर्च कम देखिएको लेखा अधिकृत पौडेलले बताए ।

यस आर्थिक वर्षमा ३ सय ६४ योजना गाउँपालिकामा सम्झौता भएकोमा २ सय २८ वटा योजना सम्पन्न भैसकेको प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिए । उनले स्वास्थ्य, शिक्षा , प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बाट भएको उपलब्धी , कृषिमा गरिएका गतिविधि ,सुचना प्रविधिलगायतका क्षेत्रमा गाउँपालिकाले विशेषध्यान दिएर काम गरेको बताए ।

यसका साथै यस वर्ष घोरवन्दा (ठूलाचौर–पिप्ले) मोटरबाटो पिच,आर्यभन्ज्याङ्ग ( सिंचास – पोखराथोक– देउराली मोटरबाटो स्तरउन्नति सम्पन्न भएको, दोवाटो (वडा कार्यालय( मिलनचोक मोटरबाटो कालोपत्रे, बुल्ठाँकीे–देउराली–मोटरबाटो कालोपत्रे ,तल्लो कोल्डाडाँ भर्ले दर्पुक मोटरबाटो,चिलाङ्गदी नायर खानीछाप राम्दी मोटरबाटो, चिलाङ्गदी नायरचौपारी खानीछाप मोटरबाटोको काम भएको प्रवक्त थापाको भनाइ छ । यसका साथै गाँउपालिकाको मुख्य प्रशासकीय भवनकोे कामले गति लिएको र १५ शैयाको आधारभूत अस्पतालको निर्माण कार्य पनि भैरहेको जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले स्थानीयवासीको जीवनस्तरमा सुधार आउने गरी गाउँपालिकाले योजना सञ्चालन गर्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय