
सुमित्रा कँडेल
पाल्पा। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रजनन् स्वास्थ्य सम्बन्धी महिला जनप्रतिनिधि,अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा नर्सिग अधिकृत सुनिता ज्ञवालीले प्रजनन् स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम , कार्यान्वयनको अवस्था , प्रजनन् स्वास्थ्य क्षेत्र अधिकार , निःशुल्क स्वास्थ्य सेवा सुविधाका साथै प्रजनन स्वास्थ्यको दिगो विकासका लक्ष्यहरुको बारेमा सहजीकरण गरिन् ।
उनले ८० प्रतिशत महिलाहरु अस्पतालमा प्रसूति भएपनि रक्तअल्पता, पोषणको अभाव, अन्तिम अवस्थामा मात्र अस्पतालमा भर्ना हुने, भर्ना भएपछि पनि पूरा समय अस्पताल नबस्ने जस्ता कारणले मातृ तथा शिशु मृत्युदर बढ्ने अवस्थामा रहेका बतााइन् ।
स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले जिल्लाबाट प्रदान गरिने प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा सुविधा , चुनौतीहरु , सम्भावनाहरुका बारेमा जानकारी दिए । उनले पाल्पामा ५२ वटा प्रसुती गृह (बर्थिङ सेन्टर) सञ्चालनमा रहेको समेत जानकारी गराए । सेन्टरको सेवा प्रभावकारी बनाउन सबै सरोकारवालाहरु क्रियाशील भएर लाग्नु पर्नेमा जोड दिए । यसका साथै बर्थिङ सेन्टर भएपनि एक वर्ष भित्रमा जिल्लाभर २७ जना महिलाले घरमै सुत्केरी गराएको र २० वर्ष भन्दा कम उमेर समूहका पाँच सय २० जना किशोरीहरू गर्भवती भएको क्षयकुष्ठ अधिकृत न्यौपानेको भनाइ छ । यसमा असुरक्षित यौन सम्पर्क र गर्भपतन सम्बन्धी स्कुल र आमा समूहमा सचेतना कार्यक्रम गराउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
यसैगरी अभिमुखीकरण कार्याक्रममा महिला बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक विष्णु न्यौपानेले जिल्ला प्रहरी कार्यालयमा एक वर्षभित्रमा महिलाको ८१ वटा उजुरी आएकोमा बताइन् । जसमा ३० वटा अदालतमा पुगेको र बाँकी ५१ वटा मिलापत्र भएको जानकारी गराइन् । एक वर्षको अवधिमा ३३ वटा घरेलु हिंसा विरुद्ध उजुरी परेकोमा ३२ वटा मिलापत्र भएको , ६८ महिला हराएकोमा ६१ महिला फेला परेको साथै १६ जना बालबालिका हराएकोमा १६ जना नै फेला परेको बताइन् ।
पाल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेन विवेक भण्डारीले पाल्पा अस्पतालको सेवा सुबिधाका विषयमा जानकारी गराए । उनले सरकारी अस्पतालबाट जतिसक्द्यो सहज रुपमा जनतालाई स्वास्थ्य सेवा दिनेगरी अगाडि बढेको बताए । लुम्बिनी प्रदेश सञ्चारिका समूहकी अध्यक्ष अमृता अनमोलले प्रजनन् स्वास्थको अधिकार, लुम्बिनी प्रदेशको प्रजनन् स्वास्थको अवस्था, परिवार नियोजनका साधनको प्रयोगको अवस्था, प्रसुती विदाको अधिकारको स्थिति, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ अधिकार विरुद्धको कसुरमा सजायको व्यवस्था, गर्भपतनको कारणबाट उत्पन्न समस्या र रोकथाम उपचार, बाँझोपनको रोकथाम र उपचार, किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य, लैङ्गिकतामा आधारित हिंसाको रोकथाम, प्रौढ महिलाको प्रजनन् स्वास्थ्य बारे जानकारी गराइन् ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका स्वास्थ शाखा प्रमुख मणिराम अधिकारीले प्रजनन् स्वास्थ्यमा बालविवाह प्रत्यक्ष रूपमा जोडिने हुँदा गाउँपालिकालाई बालमैत्री घोषणा गरेपनि अझै पूर्ण रुपमा बालविवाह न्यूनीकरण गर्न नसकिएको बताए । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिङजालीले गर्भवती महिला र मृगौला पीडित नागरिकको लागि नगरपालिकामा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध रहेको बताइन् । उनले नगरका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न आफूहरु लागि परेको समेत बताइन् । रिब्दीकोट गाउँपालिकाका उपप्रमुख कान्ता अधिकारीले आफ्नो गाउँपालिकामा निशुल्क एम्बुलेन्स सेवाको साथमा शून्य होम डेलिभरी गाउँपालिका बनाउन सफल भएको बताइन् । अभिमुखीकरणमा पाल्पाका पाँच स्थानीय तहका महिला जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, पत्रकारलगायतको सहभागिता रहेको थियो ।